झापा, मंसिर २५ । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर तथा एमालेका जिल्ला सदस्य ध्रुवकुमार शिवाकोटीलाई जोगाउन ठूलो धनराशिको प्रलोभन देखाएको पीडित परिवारले बताएका छन् ।
नाबालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा पूर्वमेयर शिवाकोटीलाई हिजो प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध पीडितकी हजुरआमाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जबर्जस्ती करणी मुद्धामा हिजो नै जाहेरी दिइसकेकी छन् । त्यस मुद्धालाई अगाडि नबढाउन भनेर पीडित परिवारलाई ठूलो धनराशिको प्रस्ताव गरिएको एक आफन्तले बताए । उनले कुनै पनि प्रलोभनमा नपरी पीडितलाई न्याय दिलाएरै छाड्ने जानकारी दिए ।
पीडित बालिका , प्रहरी र उद्धार गर्ने आफन्त नेपालका प्रतिनिधिसहितको टोलीले मंगलवार बिहान शिवाकोटीको बिर्तामोड– ५ स्थित घरमा पुगेर मुचुल्का उठाउने काम गरेको थियो । बलात्कारको मुद्धालाई ढिसमिस गराउन शिवाकोटी परिवारसंगै पार्टीपंक्ति पनि लागेको ती आफन्तको भनाई छ ।
यसैबीच नाबालिका बलात्कारको आरोपी शिवाकोटीमाथि चार वटा महिला संगठनहरुले हदैसम्मको कार्बाहीको माग गरेका छन् । उनीहरुले पहुँचको आधारमा दोषीले उन्मुक्ति पाउने कार्य गरे कडा प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । साथै पीडित बालिकाको स्वास्थ्य अवस्था चेकजाँच गरी उनको प्रभावकारी उपचारका साथै जीउज्यानको आवश्यक सुरक्षा व्यवस्था गर्न मागसमेत गरेका छन् । नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादी , राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपानिकट महिला संगठनहरुले दोषीमाथि कार्वाहीको माग गरेका हुन् ।
अनेम संघ (क्रान्तिकारी) झापाकी अध्यक्ष तारा श्रेष्ठ, अनेम संघ (समाजवादी) झापाकी अध्यक्ष हरिमाया न्यौपाने , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी सचिव शिखा खड्का (गणेश) र अनेम संघ (क्रान्तिकारी )झापाकी अध्यक्ष दिलकुमारी सीले बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ परेका शिवाकोटीलाई जोगाउने षडयन्त्र भइरहेको भन्दै विभिन्न राजनीतिक दलनिकट महिला संगठनहरुले प्रेस विज्ञप्तिमार्फत प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
तर, पूर्वमेयर शिवाकोटी नाबालिका बलात्कारको आरोपमा पक्राउ परेको घटनाका विषयमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।