कुमरखोद,मंसिर२६ ।झापा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी अपाङ्गता परिचयपत्र वितरण गर्न शुरु गरिएको छ ।
वुधवार वडा नं २ मा स्वास्थ्य परीक्षण गरी अपाङ्गताको परिचयपत्र वितरर्णे कार्य शुरु गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरुका लागि झापा गाउँपालिकाले १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले मंसिर २५ गतेदेखि शिविर संचालन गरी पुष ३ गतेसम्म अपाङ्गता भएका व्यक्तिहरुको विवरण दर्ता गर्ने भएको छ । पालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहज होस् भनेर प्रत्येक वडामा शिविर संचालन गर्ने प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले बताए ।
शिविरमा स्वास्थ्य परीक्षण , आँखा जाँच गर्नुका साथै निःशुल्क औषधी वितरणसमेत भइरहेको छ । गाउँपालिकाले यस्तो शिविर पहिलोपटक संचालन गरेकाले अपाङ्गता भएका कोही व्यक्ति छुट्न नहुने र छुटेपनि खवर गराएर सहभागी गराउने कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् ।
झापा गाउँपालिका , कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साक्षेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोगमा यो कार्यक्रम गरिएको कावा अध्यक्ष थपलियाले जानकारी दिएकी छन् ।