अर्जुनधारा, मंसिर २६ ।एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ ।
अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारभित्रका विभिन्न स्थानहरूमा १० थान डस्टबिन वितरण गरिएको हो ।
इलाम–झापा मैत्री समाजका अध्यक्ष पर्शुराम खरेल, अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती , वडा न. ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडालगायतको उपस्थितिमा ती डस्टबिन वितरण गरिएको हो । उनीहरुले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको बताए । एक्सेल बैंकसँग थप सहकार्य गर्दै अगाडि बढ्ने उनीहरुको भनाई थियो ।
त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्थानीय बैंक भएकोले स्थानीयको सहयोग अपरिहार्य रहेको बताए । उनले यस बैंक सामाजिक उत्तरदायित्वलाई बहन गर्न प्रतिवद्ध रहेको जनाए । बैंकका बजार व्यवस्थापन विभागका अधिकृत गजेन्द्र ढकालले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारी रहेको हुनाले यस डस्टबिन वितरण कार्यक्रममार्फत बैंकले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य राखेको बताए । कार्यक्रममा शनिश्चरे शाखाका शाखा इन्जार्च शर्मिला अधिकारी, बैंकका कर्मचारी, स्थानीय बासिन्दा तथा समाजसेवीहरूको समेत सहभागिता रहेको थियो । सहभागी सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सरसफाईमा योगदान पुर्याउन आह्वान गरे ।
डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बैंकका बजार व्यवस्थापन विभागका अधिकृत ढकालले जानकारी दिए ।
एक्सेल डेभलपमेन्ट बैंकले देशकै पहिलो र हालसम्म एकमात्र प्रादेशिक विकास बैंकको रुपमा सेवा विस्तार गरिरहेको छ । हाल यसले कोशी प्रदेशका विभिन्न जिल्लाहरु अन्तर्गत ४७ वटा शाखाहरु ३ वटा एटीएमबाट सेवा दिइरहेको छ । त्यसका साथै आकर्षक प्रिमियमका साथ न्यून ब्याजदरमा सबै किसिमका कर्जाहरु प्रवाह भइरहेको बैकले जनाएको छ ।