झापा , मंसिर २६ । नाबालिकालाई बिर्तामोडका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीले पटक पटक जबर्जस्ती करणी गरेको घटनामा मेची–महाकाली बुहारी संयुक्त आवाजले पीडितको पक्षमा डटेर उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सो संस्थाले यस घटनाका पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउने आश्वासनसमेत दिएको छ । मेची–महाकाली बुहारी संयुक्त आवाजका झापा जिल्ला संयोजक गंगादेवी भट्टराई, सहसंयोजक रोशनी अधिकारी र सचिव रिता राईले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरी समाजलाई यस्ता घटनाप्रति सचेत रहन र प्रतिकार गर्न आह्वानसमेत गरेका छन् ।
विज्ञप्तिमा बलात्कारजस्तो गम्भीर अपराधमा पूर्वमेयर शिवाकोटीको संलग्नताले गहिरो चिन्ता ल्याएको भन्दै यस घटनाले विशेष गरी घरेलु कामदारहरू जस्ता कमजोर र अशक्त व्यक्तिहरूको सुरक्षामा गम्भीर चुनौती खडा गरेको जनाइएको छ ।
यस प्रकारका जघन्य अपराधमा संलग्नलाई कानुनी कठघरामा ल्याई कडा कारबाही गर्न सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरिएको छ ।