झापा,मंसिर ७ । देशभर मानवअधिकार दिवस मनाइरहँदा पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको मानवअधिकारको विषयमा गम्भीर बन्न अन्तर्राष्ट्रिय सुमदायसँग गुहार मागिरहेका छन् । ३३ वर्षदेखि झापा र मोरङमा रहेका दुई वटा शरणार्थी शिविरका शरणार्थीहरु स्वदेश फिर्ताको प्रतीक्षामा छन् ।
मानव अधिकारको सदस्य रहेको नेपाल, भुटान र भारतले चाहेमा स्वदेश फर्कन चाहने शरणार्थीहरुलाई स्वदेश फिर्ता गराउन सक्ने भए पनि आफूहरुको विषयमा चासो नदिइएको शरणार्थीहरुको गुनासो छ । मानवअधिकारवादीहरुले पनि शरणार्थी समस्या समाधान गर्नका लागि पहल गर्न सरकारसँग बारम्बार आग्रह गर्दै आएका छन् ।
भुटान पिपुल्स पार्टीका अध्यक्ष एवम् स्वदेश फिर्तीको माग उठाउँदै आएका भुटानी शरणार्थी नेता बलराम पौडेलले स्वदेश फिर्ता, तेस्रो देश पुनर्वास र स्थानीयकरण गरेर तीन वटा विकल्प रोज्न पाउने बताइए पनि तेस्रो देश पुनर्वास बाहेकका विकल्प खुला नहुँदा शरणार्थीहरुमाथि अन्याय भएको बताए ।
‘‘स्वदेश फिर्ता हुन पाउनु हाम्रो अधिकार हो,’’ पौडेलले भने, ‘‘हामी भुटानी शरणार्थीहरु राष्ट्रियताविहीन बनेका छौं र योभन्दा ठुलो मानवअधिकारको हनन अरु के हुनसक्छ र ?’’
अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका मुलुकमा एक लाख १० हजारभन्दा बढी शरणार्थी पुनर्वास भए पनि आफ्नो देश फर्कन पाउने आशामा उनीहरु रहेको उनको भनाइ छ ।
‘‘शिविरको कष्टकर बसाइ सहन नसकेर विदेशिएकाहरु र अहिले पनि शिविरमा रहेका शरणार्थीहरुका लागि स्वदेश फिर्ताको विकल्प खुला हुनुपर्छ भन्ने हाम्रो माग हो,’’ पौडेलले भने । दातृ निकायहरुले शरणार्थीहरुलाई उपलब्ध गराउँदै आएका सहयोग रोकेपछि शिविरमा रहेका शरणार्थीहरुको दैनिकी कष्टकर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्