झापा , मंसिर २७ । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गोरखा पालुङटार नगरपालिका वडा न. ७ घर भई हाल जिल्ला तनहँु ब्यास नगरपालिका वडा न. १४ बस्ने गौरव उपनाम भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ खोटेहाङ गाउँपालिका वडा न. ७ कातिके टोल बस्ने समर्पण भट्टराई उपनाम भएका ३५ वर्षीय दिलिप भट्टराई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा मंसिर २५ गते पक्राउ गरी बिहीवार झापा जिल्ला अदालतबाट ९ दिन म्याद मिलान गरी इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

यसअघि मंसिरको दोस्रो साता घटना गराएको करिव अढाई महिनापछि दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नं.६ शिवालय टोल बस्ने २० वर्षीय धिरज माझी रहेका छन् । राजकुमारलाई उर्लाबारी नगरपालिका वडा नं. ७ उर्लाबारी चोकबाट पक्राउ गरिएको थियो भने सोही दिन धिरज पथरीशनिश्चरे नगरपालिका वडा नं. १ जातेरोड चोकबाट पक्राउ परेका थिए ।

घटनापश्चात् फरार रहेका उनीहरुलाई सुक्ष्म रुपमा अनुसन्धान गरी पक्राउ गरिएको डीएसपी चन्दले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जिल्ला अदालतबाट विष्फोटक पदार्थसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।

गत भदौ २८गते बिहान अन्दाजी ६ः१० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित गिरीबन्धुकै शमशेर एण्ड गंगादेवी टी स्टेट प्रा.लि. को पश्चिम पर्खालनजिकै क्षति पुर्याउने उद्धेश्यले उनीहरुले कुकर बम राखेका थिए । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन..?लेखिएको पर्चा त्यहाँ भेटिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्