
झापा,मंसिर २९ । पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबिचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि उपयोगमा ल्याएने नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३, सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ सम्मको साढे २१ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–११, आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारण लाइनलाई चार्ज गरिएको हो । नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौँडासम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार भएको छ । प्रसारण लाइनले करिब एक हजार दुई सय मेगावाट विद्युत् भार बोक्न सक्ने छ ।
कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न म्याग्दीको दानाबाट सुरु भई नयाँ बुटवल सबस्टेसनमा अन्त्य हुने कालीगण्डकी कोरिडोर र नयाँ बुटवल–नयाँ भरतपुर–हैटौँडासम्मको २२० केभी प्रसारण लाइन लिङ्क बनेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरबाट पूर्वपश्चिम विद्युत् प्रवाहका लागि २२० केभीको मेरुदण्ड तयार भएको र यसबाट भोल्टेजमा सुधार भई समग्र प्रणालीको विश्वसनीयता बढ्ने बताए ।
नेपाल विद्युत् प्राधिरणका कार्यकारी निर्देशक घिसिङका अनुसार यस प्रसारण लाइनमार्फत आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् ढल्केबर हुँदै भारत निर्यात गर्न र हिउँदमा अपुग विद्युत् आयात गरी पश्चिमतर्फ पठाउन सहज हुने छ । त्यस्तै कालीगण्डकी तथा मस्र्याङ्दी र ती नदीका सहायक खोलानालाबाट उत्पादित विद्युत् प्रवाहका लागि सहज हुने छ ।मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन हुँदै नयाँ भरतपुर सबस्टेसनमा समाहित हुने छ । नयाँ भरतपुरबाट विद्युत्लाई हेडौँडा र नयाँ बुटवलतर्फ पठाउन सकिने छ । भारतसँगको नयाँ बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ ।