झापा, मंसिर २९ । झापाका दृष्टिविहीनहरुले कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीलाई कुचो उपहार दिएका छन् ।
शनिवार बिर्तामोड– ३ स्थित आफ्नै भवनमा आयोजित झापा नेत्रहीन संघको १८ औ वार्षिक साधारण सभाका अवसरमा दृष्टिविहीनहरुले मन्त्री कार्कीलाई कुचो उपहार दिएका हुन् । केही दिनअघि झापा नेत्रहीन संघको आयोजनामा कुचो बनाउने तालिम संचालन गरिएको थियो । सोही तालिममा बनाइएको कुचो मन्त्री कार्कीलाई उपहार दिएको झापा नेत्रहीन संघका सचिव दिलकुमार राजवंशीले बताए । कुचो ग्रहण गर्दै मन्त्री कार्कीले राजनीतिमा देखिएको फोहोर बढार्नका लागि दृष्टिविहीनहरुले आफूलाई सो उपहार दिएको भनेर बुझेको प्रतिक्रिया दिए ।
साधारण सभाको उद्घाटन गर्दै मन्त्री कार्कीले दृष्टिविहीनहरुका लागि कम्प्युटर तालिमसंगै तातो र चिसो पानी खाने व्यवस्था गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजवंशीको अध्यक्षता तथा मन्त्री कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षासेवी जयनारायण ढुंगाना, नेकपा एमालेका प्रदेश सदस्य शिवकुमार राजभण्डारी , मोरङ नेत्रहीन संघका अध्यक्ष भोजराज भुजेल ,संस्थाका सल्लाहकार सत्यनारायण शर्मा , इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष जुनु बिमली उप्रेती , संस्थाका सहयोगी कविता घलेलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै संस्थाका सल्लाहकार संयोजक द्रोणाचार्य निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
शिक्षासेवी जयनारायण ढुंगानालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको कार्यक्रममा उच्च शिक्षा अध्ययन गर्ने हिमा मिश्र ,निर्मला कार्की र रन्जु रजकलाई छात्रवृत्ति प्रदान गरिएको थियो । संस्थाका उपाध्यक्ष उत्तम खतिवडाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव दिलकुमार राजवंशीले गरेका थिए । त्यस अवसरमा इनरह्वील क्लब बिर्तामोड मिडटाउनका पदाधिकारीहरुले दृष्टिविहीनहरुलाई न्यानो लुगा वितरण गरेका थिए ।