बिर्तामोड, मंसिर २९ । विराट–अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोडको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन भएको छ ।

सभामा संस्थाका अध्यक्ष नवीन खरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा कुल १ करोड १२ लाख ६ हजार ९ सय शेयर पुँजी रहेको जानकारी गराए । उनले संस्थामा २ करोड ४९ लाख ८९ हजार ३२५ रुपैयाँ निक्षेप र २ करोड ७७ लाख २५ हजार ७५३ रूपैयाँ कर्जा लगानीमा रहेको बताए । संस्थामा हाल १ हजार ५८४ सदस्य रहेका छन् ।

साधारण सभा झापा जिल्ला सहकारी संघका सहसचिव कृष्ण मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले राज्यले वित्तीय साक्षरतामा जोड दिनु पर्ने बताउँदै सहकारीको सुरक्षा र संरक्षणमा राज्य अनुदार भएको आरोप लगाए । उनले अन्य सहकारीको समस्या देखेर आफ्नो सहकारीको अवस्था नबुझी सदस्यहरुले अत्यधिक बचत फिर्ता माग गर्दा राम्रै सहकारी पनि अप्ठ्यारो पर्ने गरेको बताए ।

कार्यक्रमका बीच संस्थाले स्व.नरमाया स्मृति शिक्षा कोषबाट अनुष्का चौधरी र राजु हस्दालाई पुरस्कृत गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत शेयर सदस्यका छोराछोरीमध्ये जेहेन्दार छात्रछात्रालाई शैक्षिक प्रोत्साहनका लागि कोषमार्फत् सहयोग गरिँदै आएको संरक्षक नवीन खरेल र उषा खरेलको भनाइ छ ।

साधारण सभामा विराट बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख रुद्र सिटौला, कर्णाली बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक सदस्य भावना घिमिरे र विराट–अर्जुन उपभोक्ता सहकारीकी सल्लाहकार सदस्य कल्पना बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेका थिए ।

साधारण सभासँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराइएको छ । निर्वाचन समितिका सदस्य पुष्प बरालले सञ्चालन गरेको कार्यक्रममा निर्वाचन अधिकृत डिल्ली दाहालले निर्वाचितहरुलाई सपथ ग्रहण गराएका छन् । नयाँ सञ्चालक समितिमा अध्यक्ष नवीन खरेल, उपाध्यक्ष दिपेश प्रसाईं, सचिव लक्ष्मीप्रसाद खरेल, सहसचिव ईश्वरीप्रसाद काफ्ले, कोषाध्यक्ष कृष्णप्रसाद कुइँकेल तथा सदस्यहरुमा एकराज प्रधान, रुद्रप्रसाद नेपाल, खेमबहादुर बस्नेत, शारदा सिटौला, टंकप्रसाद गौतम, राजेश दाहाल रहेका छन् । त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकमा मालिकलाल राजवंशी, सदस्यहरुमा देवेन्द्र मैनाली र खगेन्द्रप्रसाद चापागाईं रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्