झापा, मंसिर २९ । न्यू रोड टिम (एनआरटी) ले दोस्रो इलाम गोल्डकपको उपाधि जितेको छ ।

साविक विजेता एनआरटीले लिग विजेता चर्च ब्वाइज क्लबलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै दोस्रो पटक इलाम गोल्डकपको च्याम्पियन बनेको हो ।

चर्च ब्वाइजले खेल सुरु भएदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै एनआरटीलाई दबाबमा राख्ने प्रयास गरे पनि गोलरक्षकको उत्कृष्ट बचाउका कारण गोल गर्न सकेन ।

खेल सुरु भएको २४ औं मिनेटमा एनआरटीका तर्फबाट खेलिरहेका विदेशी खेलाडी नेयमारले पहिलो गोल गर्दै टिमको खाता खोले । यस्तै दोस्रो र तेस्रो गोल मध्यान्तरपछि क्रमशः ५१ र ६३ औं मिनेटमा कप्तान अञ्जान विष्टले गरे । खेल अवधिभर ३ गोल गरेका उनै अञ्जान विष्ट इलाम गोल्डकपको सर्वाधिक गोलकर्ता र म्यान अफ दि टुर्नामेन्टको उपाधिसहित पुरस्कृत भए ।

यस्तै एनआरटीकै जीवनसिंह कमानलाई उत्कृष्ट प्रशिक्षक, चर्च ब्वाइजका भुवन कार्कीलाई उत्कृष्ट मिडफिल्डर, रेडहर्स इलामका अर्जुन गुरुङलाई उदीयमान खेलाडी, एनआरटीका विकास सुनारलाई उत्कृष्ट गोलरक्षक र एनआरटीकै आशिष गुरुङलाई उत्कृष्ट डिफेन्डरको उपाधिसहित जनही ११ हजार ५ सय नगदसहित पुरस्कृत गरियो ।

खेलको प्रचारप्रसार र समाचार लेखनमा सहयोग गरेको भन्दै पत्रकार गणेश घिमिरे रेडहर्स फुटबल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । पुरस्कार राशि नगद ११ हजार ५ सय रुपैयाँ रहेको छ ।

आयोजकले इलामका सुदीप राईलाई उत्कृष्ट स्वयंसेवकका रुपमा पुरस्कृत ग¥यो । इलामकै कामना खड्कालाई शनिबारको खेलमा फ्यान अफ दि म्याचको उपाधिसहित पुरस्कृत गरिएको थियो ।

मंसिर २१ गते सुरु भएको इलाम गोल्डकपको दोस्रो संस्करणमा भारतको एकसहित नेपालका प्रतिष्ठित ८ टिम सहभागी थिए । उपाधि जितेसंगै एनआरटीले नगद १० लाख र ट्रफी तथा उपविजेताले चर्च ब्वाइजले पाँच लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्