भद्रपुर, मंसिर २९ । कुलतबिरूद्धका अभियन्ता झापा भद्रपुरका इन्द्रप्रसाद ओलीले लागूपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी तयार पारेको चेतनामुलक पुस्तक दिव्य दृष्टिको भद्रपुरमा लोकार्पण गरिएको छ ।
चेतना नेपालको आयोजना तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा सदरमुकाममा कृति लोकार्पण गरिएको हो ।
चेतना नेपालका सचिव दाताराम सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै सहप्राध्यापक तारा विविधले कृतिभित्र कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागूऔषधको प्रकोप प्रवेश गर्यो भनेर खोज्ने प्रयास गरिएको जनाए । उनले नेपालमा लागूऔषध ल्याउने र नेपाली युवा युवतीहरूलाई विनासकारी कुलतले नष्टभ्रष्ट तुल्याउने अवस्था बढ्दो रहेको संकेत नै अहिलेको समाजको चित्रसित कथानक बनेको प्रष्ट पारे । समीक्षाका क्रममा विविधले दुर्व्यसन रोकथाम गर्ने आवश्यकता दुर्व्यसनी भएका पीडित घरपरिवारले गरिरहेको भएपनि समाज र राष्ट्रको नेतृत्व गर्ने अगुवाहरूको प्राथमिकतामा नपरेसम्म तीव्र गतिमा दुर्व्यसन बृद्धि भइरहेको लेखकले चिन्ता गरेको जानकारी दिए ।
पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले लागूऔषध प्रयोगका कारण सभ्य समाजले विनासतिरको गन्तव्य तय गरिरहेको भन्दै युुवापिँढीलाई भोलिको नेपाल ’जिउँदा लासहरूको देश’ बनाउने अन्धकारमा जान दिन नहुने धारणा राखेका थिए ।
कल्पना भट्टराईले स्वागत गरेको कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले लागूपदार्थको जीवनघाती कुलतमा फसेका छोराछोरीका अभिभावकहरूका पीडा र मानसिक यातनाका भारीहरू देखेर कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि त्यस्तै हुने हो कि भनेर समाजमा संत्रस्त रहेको बताउँदै त्यस्तो वातावरण अन्त्य गर्न सवैको हातेमालो आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा लेखक, साहित्यकार तथा झापाका अग्रज पत्रकार नकुल काजीलाई अभिनन्दन गरिएको थियो भने समाजसेवी पुरुषोत्तम अधिकारी तथा अभियन्ता कल्पना भट्टराईलाई सम्मान गरिएको थियो ।
यसअघि ओलीले लागूऔषधसम्बन्धी नै विभिन्न पुस्तकहरु प्रकाशित गरेका थिए । नेपाल प्रहरीमा लामो समय सेवारत रही लागूऔषध दुर्व्यसन नियन्त्रणको क्षेत्रमा २०५६ सालदेखि उनी क्रियाशील छन् । प्रहरी नायव निरीक्षक पदबाट उनले २०६२ सालमा स्वेच्छिक अवकास पाएका थिए । त्यसयता झापामा रहेर लागूऔषध दुर्व्यसनबिरूद्ध विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेका ओली धार्मिक जागरण अभियानमा समेत क्रियाशील छन् ।