झापा, मंसिर २९ ।झापाका पुस्तक व्यवसायी शनिबार आयोजित वनभोज कार्यक्रममा रमाएका छन्।

झापाको पर्यटकीय स्थल दोमुखामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरू हर्षोल्लास भएर रमाए । वनभोजमा नाच गान, दोहोरी, म्युजिकल चियरलगायतका प्रतियोगिता भएका थिए ।

अरुबेला पसलमा बसेर सेवाग्राहीको माग बमोजिमको पुस्तक तथा स्टेशनरीका सामग्री बिक्री वितरण गर्ने व्यवसायी रमाएको देख्दा आफूलाई पनि खुसी लागेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष जीवन नेपालले बताए । उनले भने,‘व्यवसायीका पीर र व्यथा फरक फरक हुन्छन् । ती व्यथालाई एक ठाउँमा थन्क्याएर आज दोमुखा डाँडामा नाचगान गरेर रमाएको देख्दा म चाहिँ औधी खुसी भएँ ।’

‘व्यवसायीहरूबीच एकता, भाइचारा र मित्रता कायम राख्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने ।
व्यवसायी परिवारका सदस्यसहित वनभोज कार्यक्रममा सहभागी भएका थिए। यसैले पनि वनभोज कार्यक्रममा अधिकांश व्यवसायीहरू खुसी देखिएको महासंघका केन्द्रीय सह–कोषाध्यक्ष रबिन बरालले बताए । उनले भने,‘अधिकांश व्यवसायी परिवारका सदस्य लिएर आउनुभएको छ । परिवारका सदस्य सम्मिलित वनभोज कार्यक्रममा जो कोही पनि खुसी नहुने त कुरै भएन नि ?’

झापामा करिब ४०० का हाराहारीमा पुस्तक तथा स्टेशनरीका व्यवसायी छन्। यीमध्ये ३१५ व्यवसायीले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सदस्यता प्राप्त गरेका छन्। । झापामा पाँचवटा इकाई झापा शाखाले गठन गरेको छ।
वनभोज कार्यक्रममा इकाईगत हाजिरी जवाफ प्रतियोगिता पनि भएको थियो । यो प्रतियोगिताको उपाधि तीन नम्बर इकाईले जितेको छ।

इकाई ४ का जीवन नेपाल, तीर्थ काफ्ले र सुरेन्द्र दाहालको समूह हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ। यस्तै दुई नम्बरका इकाईका नवीन घिमिरे, समीर प्रसाई र रबिन बरालको समूह दोस्रो भएको छ। यता पाँच नम्बर इकाईअन्तर्गत सनम पौडेल, ईश्वरी न्यौपाने र युवराज नेपालको समूह तेस्रो भएको छ ।

हाजिरी जवाफ प्रतियोगिता कन्चनजङ्गा एफएमका पत्रकार दिपेन्द्र पौड्यालले सहजीकरण गरेका थिए । उनी जीविका इन्टरप्राइजेजका सञ्चालक हुन् । विजेता तीनवटै समूहलाई शिवसताक्षीको सताक्षी सप्लायर्सले प्रायोजन गरेको पुरस्कार प्रदान गरिएको थियो ।

यता म्युजिकल चियरमा तीन नम्बर इकाईका संयोजक संयोजक तीर्थ काफ्ले प्रथम, दुई नम्बर इकाईका संयोजक नवीन घिमिरे दोस्रो र बुधबारेका योगेन्द्र पौडेल तेस्रो भएका थिए । विजेता सबैलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाको नवौँ वार्षिक साधारण सभाको अवसर पारेर प्रमाणपत्र प्रदान गरिने महासंघका झापा अध्यक्ष विनोद सापकोटाले बताए ।

कार्यक्रममा, महासंघका केन्द्रीय सह–कोषाध्यक्ष रबिन बराल, कोशी प्रदेशका सचिव दिवाकर भट्टराई, उपसचिव टंकमणि भट्टराई, अधिवक्ता फडेन्द्रराज न्यौपानेलगायतको सहभागिता थियो। कार्यक्रम सचिव चन्द्रमणि घिमिरेले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य नवीन घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्