झापा,मंसिर ३० । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषका लागि रकम जम्मा हुने क्रम जारी छ ।

सामाजिक क्षेत्रका अगुवा तथा व्यवसायीहरुले विभिन्न अवसर परेर संघले स्थापना गरेको कोष बृद्धिका लागि सहयोग गर्दै आएका छन् ।
व्यवसायीलाई विपद् पर्दा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको कोषका लागि बिर्तामोडका युवा व्यवसायी नारायणप्रसाद चिमरियाले शनिवार २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले आफ्नो जन्मदिनको अवसर परेर संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । चिमरिया संघको पूर्व वाणिज्य उपाध्यक्ष तथा च्याङथापु स्टोरका सञ्चालक हुन् । उनी नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय महासचिवसमेत रहेका छन् ।
कोषमा रकम वृद्धिका लागि सहयोग पुर्याएका चिमरियालाई बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले कदरपत्र प्रदान गरेका थिए ।
त्यस्तै सुनचाँदी व्यवसायी राजकुमार गुप्ताले शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको कोषको लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनी राज ज्वेलर्सका संचालक हुन् । यसअघि युवा व्यवसायी रुपक ओडारीले आफ्नो जन्मदिनको अवसर पारेर पाँच हजार एक सय रुपैयाँ सहयोग गरेका थिए ।
संघले स्थापना गरेको कोषका लागि बिर्तामोडका अर्का व्यवसायी संजय चौधरी र भुपेन्द्र भण्डारीले समेत सहयोग गरेका छन् । उनीहरुले समेत जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको कोष वृद्धिका लागि सहयोग गरेका छन् । संजय लेडिज कर्नरका सञ्चालक चौधरीले २१ हजार एक सय ११ रुपैयाँ र कर परामर्श सेवाका सञ्चालक भण्डारीले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।
जन्मदिनकै अवसरमा संघकी पूर्व कार्यसमिति सदस्य तुलसा ढकाल खनालले २१ हजार रुपैयाँ सहयोग गरेकी छन् । उनी रिया कस्मेटिक सेन्टरकी संचालक हुन् ।
संघले स्थापना गरेको कोषमा सहयोग गर्ने उनीहरु व्यवसायी प्रतिनिधि हुन् । उनीहरु जस्ता धेरै व्यवसायीले अहिले आफ्नो जन्मदिन, विवाह उत्सव तथा अन्य विभिन्न अवसरका राहत कोषका लागि रकम प्रदान गर्दै आएका छन् ।
संघले सकारात्मक कार्यको सुरुवात गरेको भन्दै अहिले अधिकांश व्यवसायीले फजुल खर्चलाई कटाएर सामाजिक हितका लागि संघको कोष वृद्धिका लागि सहयोग उपलब्ध गराउँदै आएको संघका महासचिव कुशल खतिवडाको भनाई छ ।