झापा,मंसिर ३० । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकिएको छ । केही समय अन्योलमा रहेका प्रतियोगिता लक्षित कार्यक्रम पुनः चलायमान हुन थालेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद्–राखेपका अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको एक सय १८औँ बोर्ड बैठकले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो । यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि खेलपूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेका छन् । जिल्ला–जिल्लामा खेल पूर्वाधार निर्माण भइसकेका छन् । अहिले खेलाडी छनोटको काम धमाधम भइरहेको कर्णाली खेलकुद विकास परिषद्ले जनाएको छ । हालसम्म ६ वटा खेलका लागि खेलाडी छनोट गरिएको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए । उनका अनुसार फुटबल र भलिबलका खेलाडी छनोटको काम धमाधम भइरहेको छ ।

समय पर्याप्त रहेकाले खेलाडी छनोट र पूर्वतयारीका खेल सञ्चालनमा जोड दिएको उनको भनाइ छ । २४ खेल खेलाउन सकिने गरी पूर्वाधार निर्माण गरिएको र सोहीअनुसार तयारीका खेल खेलाइनेछ । केही खेल सुर्खेतमा खेलाइनेछ भने केही खेल जिल्ला–जिल्लामा खेलाइनेछ । प्रतियोगिताकै लागि केही पूर्वाधार निर्माण भइसकेका छन् । कुन जिल्लामा के–के पूर्वतयारीका खेल खेलाउने भन्ने विषयामा छलफल गरेर खेल खेलाइने परिषद्ले जनाएको छ । जिल्ला–जिल्लामा निर्माण गरिएका खेलपूर्वाधार अनुसारकै खेल खेलाइनेछ । जिल्लाहरूमा पूर्वाधार निर्माणका काम सकिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्