बिर्तामोड, मंसिर ३० । आयोजक झापा–११ एफसी झापा कपको पहिलो चरणबाटै बाहिरिएपछि हजारौ घरेलु दर्शक निराश बनेका छन् ।

आज झापा ११ ले जित्ने भनेर उत्साहित भएर खेल हेर्न डोमालाल राजवंशी रंगशालामा हजारौ दर्शक खचाखच भरिएका थिए । तर, झापा ११ ले राष्ट्रिय जागृति क्लब इटहरीसंग २–० ले हार बेहोर्दै घरेलु दर्शकलाई निराश बनायो । ०–२ को स्थितिमा रहेको झापाले अब जित्न नसक्ने ठानेर आधा दर्शकहरुले खेल सकिनु अगावै रंगशाला छाडेका थिए भने केही समर्थकहरुले झापा अझै खेलमा फर्किन सक्ने भनेर खेलको अन्तिमसम्म पर्खेर बसेका थिए । आखिर झापा ११ ले कुनै पनि गोल गर्न सकेन । फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी पहिलो चरणबाटै बाहिरिएको हो ।
स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक झापा–११ लाई २–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलमा जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ । राष्ट्रिय टिमका नियमित खेलाडी उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, डिफेन्डर देवेन्द्र तामाङसहित मैदानमा उत्रिएको झापाले खेलमा फितलो प्रदर्शन गरेको थियो ।
जागृतिको जितमा मिलन राई नायक बने । उनले दोस्रो हाफको ५३ र ६२ औँ मिनेटमा टिमको लागि गोल गर्न सफल भए । खेलको ५३ औँ मिनेटमा गोलपोस्टको २० यार्डमा झापाका डिफेन्डर विशाल दर्जीले जागृतिका मिलन राईलाई फाउल गरेका थिए । त्यसपछि पाएको फ्रिकिकलाई राईले नै सुन्दर गोल गरे ।
खेलमा दोस्रो गोल राईले नै गर्न सफल भए । ६२ औँ मिनेटमा झापाका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गरे । गोलकिप्पर सन्दीप लिम्बूलाई बिट गर्दै गरेको प्रहारले जागृतिको अग्रता दोब्बर बनायो ।
खेलमा झापाको प्रदर्शन अपेक्षाकृत रहेन । विपक्षी पोस्टमा झापाले आक्रामक प्रयास गर्न सकेन । खेलको ४४ औँ मिनेटमा झापाका दयानन्द सिंहले डिबक्समा पाएको अवसर बाहिरियो । ५७ औँ मिनेटमा सिंहको लामो प्रहार विपक्षी गोलकिप्परले पञ्च गरेर बचाउ गरे ।

१८ औँ मिनेटमा जागृतिका बिकु राईले पाएको बल गोल नहुँदा अग्रता लिने अवसरबाट बञ्चित भयो । ४१ औँ मिनेटमा मिलन राईले डिबक्सबाट गरेको कडा प्रहार गोलकिप्पर सन्दीप लिम्बूले उत्कृष्ट बचाउ गरे ।
खेलको प्लेयर अफ द म्याच जागृतिका २ गोलकर्ता मिलन राई भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । उनलाई झापा ११ का अध्यक्ष जलकुमार गुरुङलगायतले ट्रफी प्रदान गरे ।
सोमबारको पहिलो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सलहेस फुटबल क्लब सिरहाबीच हुने आयोजकले जनाएको छ ।
आर्मीले पहिलो चरणको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई हराएको थियो भने सलहेस क्लब सिरहा बाइ पाएर प्रतियोगितामा सहभागी भएको हो ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्साहित गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।