बिर्तामोड, पुष १ । वीरता लेडी जेसीजमा फेरि विवाद भएको छ ।

तीन वर्षअघि नेतृत्व चयन गर्ने विषयमा विवाद भएकोमा फेरि त्यस्तै विवाद यस वर्षको निर्वाचनमा पनि देखिएको हो । १७ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनमा नयाँ नेतृत्वको विषयले लेडी जेसीजमा विवाद चर्किएको थियो ।

हिजो आयोजित २१ औं साधारण सभा तथा २० औं शाखा अधिवेशनमा पनि विवाद देखिएको छ । विवादका बीच निर्वाचन समितिले सन् २०२५को अध्यक्षमा निशा शाक्य निर्वाचित भएको घोषणा गरेको छ । निर्वाचनमा निशा शाक्य र झुमा चुँडाल अध्यक्षका दावेदार थिए । प्रतिष्पर्धी चुँडालले नाम फिर्ता लिएर हिडेपछि शाक्य एकलौटीरुपमा अध्यक्ष बनेकी हुन् । तर , निर्वाचन समितिले माइन्युटमा शाक्यले ८२ मत र चुँडालले शून्य मत प्राप्त गरेको उल्लेख गरेको छ । सबै मतदाता उपस्थित नभइकन ८२ मतले शाक्यले निर्वाचन जितेको माइन्युटमा उल्लेख गरिएको हो । त्यस विषयमा चुँडालले पत्रकार सम्मेलन गर्ने बताएकी छन् ।

अध्यक्ष मेनुका ओली र निर्वाचन समिति संयोजक संगिता गिरीको मिलेमतोमा एकलौटी रुपमा नेतृत्व चयन गरिएको भन्दै असन्तुष्ट समूहले निर्वाचन बहिष्कार गरेको जनाएको छ ।

चुँडाल सन् २०११ देखि जेसीस अभियानमा सक्रिय छिन् भने शाक्य २०१९ मा मात्र जोडिएकी हुन् । गिरी र ओलीले चुँडाललाई पन्छाएर शाक्यलाई अघि सारेपछि जेसीजको निर्वाचन प्रक्रिया चुँडालको समूहले बहिष्कार गरेको जनाइएको छ ।

अर्कोतर्फ निर्वाचन प्रक्रिया निष्पक्ष र धाँधलीरहित नभएको भन्दै रोजिना पाण्डेले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् । मतदाता नामावलीमा आफ्नो नाम नियतवश हटाइएको र त्यस विषयमा कुरा गर्न जाँदा निर्वाचन समितिले आफूलाई गुन्डा भनेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा निर्वाचन प्रक्रिया रोक्न उजुरी दिएकी थिइन् । तर, निर्वाचन समितिले निर्वाचन प्रक्रिया नरोकी विवादका बीच नयाँ कार्यसमिति चयन गरेको हो ।

पाण्डेले नवीकरण शुल्क तिरेर पनि आफूलाई बिनाकारण सदस्यबाट हटाएको आरोप लगाएकी छन् । ओली र गिरीको मिलेमतोमा जेसीजलाई प्राइभेट कम्पनी बनाउन खोजिएको उनको आरोप छ । अक्टोबर ३१ सम्म नवीकरण गरिसक्ने सदस्यले मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने विधानलाई मिचेर साधारण सभाकै दिन डिसेम्वर १३ मा अध्यक्षकी उम्मेद्वार शाक्यले अधिकांश सदस्यको नवीकरण गरेको आरोप लागेको छ ।

वीरता लेडी जेसीजको विधानको धारा ६ को उपधारा ८ बमोजिम अक्टुबर ३१ सम्म नवीकरण भएका सदस्यले मात्र मतदानमा सहभागी हुन पाउने व्यवस्था रहेको एक सदस्यले बताइन् । हिजो यो विषय उठ्दाउठ्दै समिति बनाएर नयाँ नामावली प्रकाशन गरिन्छ भनी जवाफ दिएर निर्वाचन समितिले केहीक्षणमै एकलौटी निर्णयमा दाबी विरोधको समय सकिएकोले सम्बोधन गर्न नसक्ने निर्णय गरेर षडयन्त्र गरेको उनले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्