झापा,पुष १ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउन टिम नै परिचालन गरेको प्रहरीले अनुसन्धानका क्रममा निष्कर्ष निकालेको छ । भारतमा बसेर व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयल पक्राउ परेपछि प्रसाईं र अरू ३ जनाको संलग्नता खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
लरेन्स विश्नोइको नाममा धम्की दिन समूह नै परिचालन गरेको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान सुरु गरेको छ । एउटा कसुरमा संगठित अपराध जोडिएपछि ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने अधिकार प्रहरीलाई हुन्छ ।
अहिले उनीविरुद्ध आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराधमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका एआईजी दीपक थापाले बताए । उनले भने, ‘कानुनी रूपमा उनलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने अवस्था छ ।’
प्रसाईं निकट हरिचन्द्र फुयलले व्यवसायीलाई धम्क्याउन आफूलाई प्रसाईंले ५ लाख दिएको बयान दिएका छन् । उनले भनेका छन्, ‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन् ।’ तर, प्रसाईंले बयानमा सो कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
फुयलमाथि अनुसन्धान गर्दै जाँदा प्रसाईंले परिचालन गरेका थप ३ जनाको कनेक्सन भेटिएको छ । नेपालमै रहेका थप दुई जना र विदेशमा बस्ने १ जनाले प्रसाईंको योजनालाई सघाएका हुन् । उनीहरूलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरिरहेको छ ।