माईधार, पुष १ । कोशी प्रदेशका सापकोटाहरूले झापाको माईधारमा आइतबार कुलको सामूहिक पूजा गरेका छन् ।
उधौली पर्वको अवसर पारेर सापकोटाहरूले कुल पूजा गरेको सापकोटा कल्याण केन्द्र झापाले जनाएको छ।
गौडिन्य गोत्रका सापकोटाले उधौली र उभौलीमा वर्षमा दुईपटक सामूहिक कुल पूजा (गोठ धुप) गर्ने गरेका छन् । सापकोटा कल्याण केन्द्र झापाले आयोजना गरेको कार्यक्रममा माघ २ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने जानकारी दिइयो । पुराणका लागि सबै तयारी पूरा गर्न विभिन्न उपसमितिहरू गठन हुने पनि केन्द्रका झापा अध्यक्ष सन्तोष सापकोटाले बताए ।
पुराणबाट संकलित रकमबाट करिब ३०० जना अटाउन सक्ने सभाहल निर्माण हुने केन्द्रका झापा सचिव रामप्रसाद सापकोटाले बताए । उनले भने,‘ब्राह्मण दक्षिणाका दाता हुनुहुन्छ। भोजन र प्रसादी गराएर बचेको रकमबाट सभाहल निर्माण हुनेछ ।’
यस्तै सापकोटाको कुल मन्दिर पनि माई धाममा निर्माण हुने भएको छ । केन्द्रका झापा कोषाध्यक्ष प्रेमसागर सापकोटाको नेतृत्वमा कुल मन्दिर निर्माण हुने केन्द्रले बताएको छ ।
सापकोटा कल्याण केन्द्रका कोशी प्रदेश अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रामबाबु सापकोटाले कुलदेवताको पूजा गर्ने विधि र पद्धतिको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा केन्द्रका मोरङ अध्यक्ष राजु सापकोटा र केन्द्रका उपाध्यक्ष लक्ष्मी सापकोटाले आ–आफ्ना धारणा राखेका थिए।
यस्तै केन्द्रले कोशी प्रदेशबाट कक्षा १२ मा उत्कृष्ट अङ्कलाई उत्तीर्ण हुने एक छात्र र एक छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । इलाम सन्दकपुर ५ की नम्रता सापकोटा र झापा अर्जुनधारा ६ की सुरक्षा सापकोटालाई दोसल्लासहित जनही नगद २ हजार ५०० द्वारा पुरस्कृत गरिएको थियो।
कुलपूजामा कोशी प्रदेशका करिब ५ सय सापकोटा भेला भएका थिए । मञ्जु सापकोटाले स्वागत मन्तव्य गरेको कार्यक्रमको सहजीकरण केन्द्रका झापा सचिव रामप्रसाद सापकोटाले गरेका थिए ।
कार्यक्रममा अध्यक्ष सन्तोष सापकोटाले सांगठानिक दस्तावेज वाचन गरेका थिए । उनले सापकोटाको वंशावली र कुलदेवताको पूजा गर्ने मन्दिर स्थापना गर्ने केन्द्रको मुख्य लक्ष्य रहेको बताए ।