झापा,पुष १ । एसिसी यू–१९ महिला एसिया कपमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर–४ मा प्रवेश गरेको छ।
समूह ‘ए’ मा पाकिस्तानले लगातार दुई खेलमा पराजय भोगेर बाहिरिएसँगै नेपाल समूहको अन्तिम खेलअघि सुपर–४ मा पुगेको हो। समूहमा यसअघि भारतले पाकिस्तानलाई पराजित गरेको छ।
नेपालले अब आफ्नो समूहको अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ। समूहमा तीन टोली मात्र छन्।
भारतसँगै खेल्नुअघि नै सुपर–४ मा पुगेको नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन्।
नेपालले पाकिस्तानले दिएको १०५ रनको लक्ष्य १९ ओभरमा विकेट ४ क्षतिमा पूरा ग¥यो।
पूजाले नटआउट ४७ रन जोड्ने क्रममा ४७ बलमै ३ चौका प्रहार गरिन्।
पूजासँग सीमाना केसीले पाँचौ विकेटका लागि ४९ रनको साझेदारी गर्दै दरिलो साथ दिइन्। सीमानाले नटआउट १२ रन जोडिन्।
त्यसअघि नेपालकी ओपनर सना प्रवीन १० रनमा रनआउट भइन्। अर्की ओपनर सावित्री धामीले ८ रन जोड्दा सोनी पाख्रिन १३ रनमा रनआउट भइन्। लगत्तै ज्योत्स्निका मरासिनी शून्यमा आउट भएकी थिइन्।
त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १०४ रन जोड्यो।
उसका लागि ओपनर तथा विकेटकिपर ब्याटर कोमल खानले ३८ रन जोडिन्। यस्तै मोहम अनीसले नटआउट २९ रनको योगदान दिइन्।
बलिङमा नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिए।

समूहमा नेपाल र पाकिस्तानसँगै भारत छ। नेपालले आइसिसी यू–१९ विश्वकपअघि एसिया कप खेलेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्