झापा, पुष १ । वीरता लेडी जेसीजको निर्वाचनमा अध्यक्ष पदकी प्रत्यासी झुमा चुडालले नवनिर्वाचित पदाधिकारी र निर्वाचन समितिका पदाधिकारीविरुद्ध मुद्धा हाल्ने भएकी छन् ।
निर्वाचन प्रकृयामा भाग नै नलिएको व्यक्तिका हकमा शून्य मत झरेको भन्ने झुठा व्यहोराको माईन्युट गरी आफ्नो आचरण, ख्याति वा नैतिकतालाई होच्याउने गरी चरित्र हत्या गरेको भन्दै उनले नवनिर्वाचित पदाधिकारी र निर्वाचन समितिका पदाधिकारीविरुद्ध गाली बेइज्जतीसम्बन्धी कसुरमा कानुनी प्रकृयामा जाने भएकी हुन् ।
आज वीरता लेडी जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गरी चुडालले मुलुकी फौजदारी संहिता २०७४ को गाली बेइज्जती सम्बन्धी कसुरको दफा ३०६ ले उल्लेख गरेबमोजिम अदालतमा मुद्धा हाल्ने जानकारी दिइन् । ऐनमा कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख छ । साथै उनले विधानविपरीत गठन गरिएको वीरता लेडी जेसीजको नयाँ कार्यसमिति खारेजीको मागसमेत गरेकी छन् ।
निर्वाचन प्रक्रिया निष्पक्ष र धाँधलीरहित नभएको भन्दै सदस्य रोजिना पाण्डेले हिजै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइसकेकी छन् । मतदाता नामावलीमा आफ्नो नाम नियतवश हटाइएको र त्यस विषयमा कुरा गर्न जाँदा निर्वाचन समितिले आफूलाई गुन्डा भनेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा निर्वाचन प्रक्रिया रोक्न उजुरी दिएकी थिइन् । तर, निर्वाचन समितिले निर्वाचन प्रक्रिया नरोकी विवादका बीच नयाँ कार्यसमिति चयन गरेको थियो ।
निर्वाचन समितिको अधिकृतमा संगिता गिरी रहेकी थिइन् भने सदस्यहरुमा संगिता चिमरिया र सरु भुर्तेल खनाल रहेका थिए । सो समितिले वीरता लेडी जेसीजको सन् २०२५को अध्यक्षमा निशा शाक्य निर्वाचित भएको घोषणा गरेको थियो । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष मेनुका ओली, कार्यकारिणी उपाध्यक्ष मुना अधिकारी ढुंगेल, चन्द्रकला रिजाल, उपाध्यक्ष एलिना रिजाल ढकाल, अञ्जली शाह, भावना बस्नेत, तारा बस्नेत रहेका छन् । यस्तै सह–सचिवमा दिक्षा कडरिया, शाखा सम्पादकमा हेलेन खरेल, तालिम संयोजक कोपिला पोख्रेल सिटौला, जनसम्पर्क अधिकारी पार्वता श्रेष्ठ निर्वाचित भएको बताइएको थियो ।