लक्ष्मी उप्रेती,
बाहुनडाँगी । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले अपाङ्गगता भएका व्यक्तिहरुलाई माया होइन अवसर दिनुपर्ने बताएका छन् ।
अपाङ्गगता भएका व्यक्तिहरुलाई अवसर दिएको खण्डमा उनीहरु अरु सरह काम गर्न सक्ने भएकाले माया होइन अवसर दिनुपर्ने मन्त्री कार्कीको भनाई थियो ।
सोमबार मेचीनगर —१ बाहुनडाँगीमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण,आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविरको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दैं मन्त्री कार्कीले यस्तो बताएका हुन् । अहिले कोशी प्रदेश सरकारको निकै महत्वपूर्ण काम यहि भएको भन्दैं देशभरि नै यस्तो रचनात्मक काम कोशी प्रदेश सरकारले शुरु गरेको मन्त्री कार्कीले दाबी गरे ।
अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि प्रत्येक वडामा शिविर सञ्चालन गर्न लागिएको उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताइन् ।विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान तथा अपाङ्गता परिचयपत्र वितरणको काम शिविरमार्फत सञ्चालन गरिने उपप्रमुख उप्रेतीको भनाई छ ।
वडा नम्बर १ को वडा कार्यालयबाट सुरु भएको शिविर १५ गते वडा नम्बर १५ मा पुगेर समापन हुने छ । नगरले आवश्यक कागजातको साथमा आ–आफनो वडामा सञ्चालन हुन लागेको शिविरमा उपस्थित हुन अपाङ्गता भएका व्यक्तिहरुलाई आग्रह गरेको छ । मेचीनगर स्तरीय अपाङ्ग समन्वय समितिका संयोजक एवम् उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता रहेको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य छवि चुडाल, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, करूणा फाउन्डेसनका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोईराला ,नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्की,नेपाली काँग्रेस प्रतिनिधि हेमलाल गुरागाईँलगायतले बोलेका थिए ।
नगरपालिकाका शाखा प्रमुख अन्नतप्रकाश वस्तीले सञ्चालन गरेको उद्घाटन सत्रमा मेचीनगर १ का वडाध्यक्ष रामकुमार राईले स्वागत गरेका थिए ।