झापा, पुष २ ।३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अरिदमन गण चारआली व्यारेकमा विद्यार्थीहरुका लागि संचालित खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ ।

विभिन्न विधामा संचालित प्रतियोगिताको समग्रमा ईष्ट होराईजन स्कुल प्रथम भएको छ । फुटबल खेलमा टावर टेम्पल स्कुल र छात्र तथा छात्रा भलिवलमा स्वस्तिका शिशु सदन प्रथम भएको थियो । विजेता स्कुललाई ट्रफी तथा प्रमाणपत्र र उत्कृष्ट बिद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।

नेपाली सेनासंग शिक्षा क्षेत्रमा सहकार्य गरिरहेका झापा जिल्लामा ५ वटा विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए । मंसिर ३० गतेदेखि शुरु भएको प्रतियोगितामा फुटबल, भलिबल (छात्र र छात्रा), हाजिरी जवाफ तथा पृथ्वीनारायण शाह र राष्ट्रिय एकीकरण बिषयमा केन्द्रित रही वक्तृत्वकला, चित्रकला र कविता प्रतियोगता ईभेन्टहरु समावेश गरिएको थियो ।