पथरी, पुष ३ । मोरङको लेटाङमा पहिलोपटक गोरक्षा महोत्सव सुरु भएको छ।

यसअघि झापाको सताक्षीधाममा मात्र यस्तो महोत्सव सञ्चालन हुँदै आएको थियो। श्रीकृष्ण गौशालाले पुष १ गतेदेखि ७ गतेसम्म श्रीमद् भागवत सप्ताह एवं सुरभी ज्ञान महायज्ञको आयोजना गरेको हो । आयोजकका अनुसार पहिलोपटक गोरक्षा महोत्सव मोरङको लेटाङमा सुरुवात भएको हो।

गोलोक गोवर्धन गौशाला झापाका अध्यक्ष आचार्य नन्दकिशोरजी महाराजका अनुसार गोरक्षा भनेको गाईको संरक्षण, सेवा र गाईको महिमा आम सर्वसाधारणलाई जानकारी गराई गाईको जीवन रक्षा गर्नु हो।
सोमबारदेखि सुरु भएको श्रीमद्भागवत महापुराण तथा धन–धान्याचल सुरभी महायज्ञको दोस्रो दिनसम्ममा करिब २ हजार गोभक्त महोत्सवमा सहभागी भएका छन्। स्थानीय लेटाङ– ९ जाँतेको गणेश मन्दिर परिसरमा सञ्चालित श्रीकृष्ण गौशालाको आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ।

धेनुमानस गौ–महिमा गौ माताका अनन्य भक्त, राधेराधे परिवारका संस्थापक प्रवक्ता एवं नेपाल, भारत र भुटानका सुप्रसिद्ध भागवत कथा वाचक पण्डित घनश्याम खनालको मुखारविन्दबाट भागवतमा कथा प्रवचन भइरहेको छ भने पाठपारायण बैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठ लेटाङ जाँतेका पण्डित सुदीप ढुङ्गानाले गरिरहेका छन् ।
सताक्षीधामस्थित गोलोक गोवर्धन गौशालाबाट २०८० साल पुष ७ गते १२ वटा गाई लगेर श्रीकृष्ण गौशाला सञ्चालन गरिएको थियो । गौशालाका अनुसार नौवटा गाई अहिले गर्भिणी अवस्थामा छन्।

पुराण आयोजक समितिका अनुसार अब केही दिनमै ३६ वटा गाई श्रीकृष्ण गौशालामा हुने छ । यो गोरक्षा महोत्सव गौशाला स्थापनाको अवसर पारेर वर्षेनि आयोजना हुने श्रीकृष्ण गौशालाले जनाएको छ।

गोरक्षा महोत्सव अर्थात् श्रीमद्भागवत एवं सर्वविज्ञान महायज्ञबाट सङ्कलन हुने भेटी वा दानबाट गाई संरक्षणका लागि टहरा निर्माण गरिने गौशालाले बताएको छ। महोत्सवमा लेटाङ, कानेपोखरी, पथरी शनिश्चरे, उर्लाबारी, बेलबारीलगायतका पालिकाबाट सर्वसाधारण भक्तजनको उपस्थिति छ ।

गौशाला निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवमा सयौं भक्तजनले आर्थिक सहयोग गरिरहेको गोरक्षा महोत्सव आयोजक समितिले बताएको छ। सोमबार साँझ झापाको शिवसताक्षीस्थित सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाका उपाध्यक्ष उदयप्रकाश राईले ११ हजार रुपैयाँ प्रदान गरेका थिए ।

श्रीकृष्ण गौशालाको विकास तथा सञ्चालनका लागि सहयोग जुटाउने उद्देश्यले महापुराण आयोजना गरिएको आयोजक समितिका सचिव पुष्प काफ्लेले बताए । महापुराणमा खासगरी गाईको संरक्षणलाई जोड दिँदै गौमहिमासहितको संगीतमय कथावाचन गरिने पण्डित सुदीप ढुङ्गानाले जानकारी दिएका छन्।

यत्रतत्र छाडिएका, गैरकानुनी हिसाबले भारततर्फ निकासी गर्न लागिएका, थारा, वयस्क गाईको औषधि उपचार, संरक्षण गर्ने उद्देश्यले एक वर्षअघि मात्र श्रीकृष्ण गौशालाको स्थापना भएको हो। नजिकको जंगल क्षेत्रमा दिनभरि चरनमा जाने र रात परेपछि बासका लागि गौशाला फर्कने गाईको लागि आवास गृह निर्माण गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको सचिव सापकोटाले बताए ।

पूर्वपश्चिम राजमार्गको पथरीबाट नौ किलोमिटर उत्तरको जङ्गल क्षेत्र छिचोल्नेबित्तिकै आउने जाँते क्षेत्रमा यो कार्यक्रम सञ्चालन भइरहेको आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार कालोपत्रे सडकले मानव बस्ती जोडेलगत्तै करिब ५०० मिटर पश्चिम कच्ची सडक पार गर्दा महोत्सव क्षेत्र पुग्न सकिन्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्