लक्ष्मी उप्रेती
बाहुनडाँगी ।झापाको मेचीनगर–२ बाहुनडाँगी यतिबेला खेलमय बनेको छ ।

बाहुनडाँगीमा बुधबारदेखि पाँचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।

जिल्ला खेलकुद विकास समिति झापाको संयोजन, मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर–२ को व्यवस्थापन र मेचीनगर नगरपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिताको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले उद्घाटन गरिन् । मेची जनसाधारण माध्यमिक विद्यालयको प्रांगणमा शुरु भएको यो चौधौं झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट खेलकुद प्रतियोगितासमेत हो ।

नगरभित्रका खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र मेचीनगरका विभिन्न विधाका खेलाडीहरुलाई खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने प्रतियोगिताको उद्देश्य रहेको उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताइन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको वडा नम्बर २ का कुस्ती खेलाडी बच्चन राजवंशीको प्रतिक्रिया छ । आफ्नो विद्यालय परिसरमा प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मा पाएकोमा उत्साहित बनेको प्रधानाध्यापक चन्द्रशेखर गुरागाईँले बताए ।

नगर स्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेपछि प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने अनि प्रदेश हुँदै केन्द्रमा समेत उनीहरुले सहभागिता जनाउन पाउने नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले जानकारी दिए ।

मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको अध्यक्षतामा शुरु भएको प्रतियोगितामा छात्र छात्रातर्फको भलिबल, कबड्डी, एथलेटिक्सतर्फ दौड ट्रयाक, उफ्रने र फ्याक्ने फिल्ड, मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसुतर्फ थाओलु र सान्सौंलगायतका खेल समावेश गरिएको मेची जनसाधारण माविका प्रधानाध्यापक गुरागाईँले जानकारी दिए। प्रतियोगितामा मेचीनगरभित्रका ५० वटा विद्यालय सहभागी छन् । प्रतियोगिताबाट विभिन्न विधाका कुल एकसय १० विद्यार्थी छनौट हुने भएका छन् । प्रतियोगिता पुष ५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्