झापा, पुष ४ । सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

हिजो साँझ ६.१० बजे सुनसरीको दुहबी नगरपालिका वडा नं.८ जुटमिल अगाडीको कोशी लोकमार्गमा दुहबीबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२७ च ०४८२ नम्बरको कारले पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेका पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय गणेश गुप्तालाई ठक्कर दिएको थियो । घाइतेको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचार भइरहेकोमा साँझ ७ः३० बजे मृत्यु भएको हो । कार चालक मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी २४ वर्षीय रामनाथ जोगीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो दिउँसो १ बजे इटहरी उपमहानगरपालिका– १३ काली मन्दिरस्थित कोशी लोकमार्गमा दुहवीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ त ०२४९ नं. को ट्रयाक्टरले पूर्वबाट पश्चिमतर्फ बाटो काट्दै गरेको प्र १–०२–०४८ प ३४९७ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते मोटरसाइकल चालक मोरङ रंगेली ६ बस्ने ४३ वर्षीय बलराम सरदारलाई उपचारको लागि बिराट टिचिङ अस्पताल विराटनगर पठाइएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल र ट्रयाक्टर प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको छ भने ट्रयाक्टर चालक दुहवी १० बस्ने २३ वर्षीय अविराम माझीलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो दिउँसो ४ः३० बजे खोटाङमा स्कुल बसबाट झरेर एक बालिका गंभीर घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी– २ सोल्मा बस्ने उदिमसेर राईकी छोरी ४ वर्षीया रिदिमा राई दिक्तेलस्थित हिलसाईड सेन्ट्रल एकेडेमीबाट घर आउने क्रममा बा ३ क २३७४ नं. को सोही स्कुलको बसको झ्यालबाट अचानक झरेर घाइते भएकी हुन् । उनको दिक्तेलस्थित फेमेली केयर अस्पतालमा उपचार भइरहेको छ भने चालक र बस जिल्ला प्रहरी कार्यालय खोटाङको नियन्त्रणमा रहेको छ ।

त्यस्तै हिजो साँझ ६ः२५ बजे संखुवासभाको खाँदबारी –८ बडारेनी चोकस्थित खाँदबारी– तुम्लिङटार सडकखण्डमा खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४३९४ नम्बरको भ्यानले मादक पदार्थ सेवन गरी सडकमा हिडिरहेका ढोलबाजे बस्ने अन्दाजी ४६ वर्षीय पुष्पबहादुर बाँनियालाई ठक्कर दिएको थियो । गंभीर घाइते बाँनियाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । भ्यान चालक तुम्लिङटार बस्ने ३१ वर्षीय मेयर कुमाल उपचारमा संलग्न रहेको र भ्यान जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्