झापा,पुष ४ । छिर्के, फुर्के र गानो कुहिने रोगले बगान सखाप भएपछि निराश भएका अलैँची किसानलाई यतिबेला भने निकै उत्साह थपिएको छ । पछिल्लो साता १२ वर्षयताकै उच्च मूल्य (प्रतिमन एक लाख १० हजारमा रुपियाँ) मा कारोबार भइरहेको अलैँचीले गर्दा अहिले पूर्वी पहाडका गाउँ गाउँको आर्थिक क्षेत्र निकै चलायमान भएको छ ।
अलैँचीको पुराना बगान मासिएर नयाँ बगान विस्तार गरिरहेका किसान त अझ हौसिएको माई मझुवाका किसान गिरिराज खनालले बताए । उनले भने, “एक पटक बिरुवा लगाएर छाडिदिने होइन, यसलाई पनि पटक पटक मलजल, गोडमेल, बगानको सरसफाइ गर्नु आवश्यक छ । जाँगर चलाउँदा अब पैसाकै लागि बिदेसिनुपर्ने अवस्था छैन भन्ने अलैँची खेतीले प्रमाणित गरेको छ । यस वर्ष अलैँचीको मूल्य राम्रो भयो, यस्तै भाउ कायम रहे धेरै युवाले गाउँघरमै बसेर उद्यम गर्छन्, हामी उत्साही छौँ ।”
खनालले ४५ रोपनी जमिनमा अलैँची खेती गरेका छन् । यो बगानमा गत वर्षभन्दा दोब्बर अलैँची यस वर्ष फलेको खनालले बताए । पूर्वी पहाडमा नगद आर्जनको राम्रो स्रोत बनेको अलैँचीको मूल्य करिब एक महिनायता अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँमा आएर स्थिर रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले बताए । उनका अनुसार अहिले गाउँबाट करिब ७० प्रतिशत अलैँची बजार आइसकेको छ ।
जिल्लाका बिब्ल्याँटे, फिक्कल, नयाँबजार, मङ्गलबारेलगायत बजारमा अलैँचीको कारोबार भइरहेको छ । सन्दकपुर, माईजोगमाई, देउमाई, रोङलगायतका पालिकामा अलैँची उत्पादन धेरै हुने गरेको छ ।