झापा,पुष ४ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले सुरक्षा नै समाजको मेरूदण्ड भएकोले समाजको सुरक्षाका लागि अहोरात्र परिचालित हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरी विशेष व्युरोबाट कोशी प्रदेश प्रमुखको रूपमा सरूवा भई आएका प्रहरी नायव महानिरीक्षक अधिकारीले आफ्नो पदीय जिम्मेवारी सम्हालेपछि कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै समाजलाई जीवन्त, गतिशील र सुरक्षित राख्न अहोरात्र अथक रूपमा कर्तव्यनिष्ट भई समर्पित रहन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।
निर्देशनको क्रममा सबै प्रहरी कर्मचारीले आ–आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित ढंगबाट कार्य सम्पादन गर्नुपने र आईपर्ने चुनौतीहरूलाई जित्न एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवकरूपमा खटिन पर्ने उनको भनाइ छ ।
उनले सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, सहकारी ठगी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा काम गर्नु पर्ने आवश्यकता रहेको बताए ।
कोशी प्रदेश प्रहरी प्रमुखको हैसियतले कुशल अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बिश्वास दिलाउँदै प्रहरी नायव महानिरीक्षक अधिकारीले प्रहरी संगठनको छविलाई सदैव उच्च राख्न अपराधीलाई डर र निर्दोषलाई भरू को पहिचान बनाई व्यवसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा खटिन प्रहरी कर्मचारीहलाई निर्देशन दिए ।
शरीरलाई जीवन्त राख्नका लागि जसरी मुटु बिश्राम नलिई निरन्तररूपमा चलायमान रहिरहन्छ त्यसरी समाजको मुटुरूपी प्रहरीले पनि समाजका हरेक पक्षहरू सुरक्षाको लागि अनबरत इमान्दार भएर परिचालित भइरहनु पर्ने प्रहरी नायव महानिरीक्षक अधिकारीको कथन छ ।
गृह मन्त्रालयको निर्णय अनुसार विशेष व्यूरोबाट कोशी प्रदेश प्रहरी प्रमुखमा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक अधिकारी नेपाल प्रहरीमा अत्यन्तै इमानदार, अनुशासित र निष्ठावान अधिकृतको रूपमा परिचित छन् । सो अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौतीका साथै प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम तथा रचनात्मक कार्यका बारेमा अवगत गराएका थिए ।
सो अवसरमा उनलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भिम बहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोश प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरीका प्रहरी प्रमुख सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।