झापा, पुष ५ । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी झापा मेचीनगरका गुञ्जन शर्मा काठमाण्डौबाट पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर ४ महाराजगंजमा बस्दै आएका ४२ वर्षीय शर्मालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो बिहान अन्दाजी ७ः३० बजे काठमाण्डौ टोखा नगरपालिका वडा नम्बर ३ ग्राण्डी टावरबाट पक्राउ गरेको हो । उनलाई हिजो साँझ ७ः१० बजे जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान कार्य जारी रहेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
मिति २०७९ चैत १५ गते उच्च अदालत बिराटनगर इलाम इजलासले शर्मालाई ८ दिन कैद र ५४ लाख ९४ हजार ९०० रुपैयाँ जरिवाना तोकेको थियो । तर, मिति २०८० जेठ ८ गते पाटन जिल्ला अदालतले एक दिन कैद र १ लाख ८५ हजार रुपैयाँ जरिवानासहितको फैसला सुनाएको थियो ।