शिवसताक्षी ,पुष ५ । सामाजिक र धार्मिक कार्यमा समर्पित तुलसादेवी ओलीले जाडोको कठ्यांग्र्रिँदो मौसममा विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण गर्दै मानवीय सहयोग गरेकी छन्।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ सालमाराका १३० जना विद्यार्थीलाई उनले बुधवार जाडोमा आवश्यक न्यानो लुगा (ट्रयाक सुट ) प्रदान गरिन्। परिवारका सदस्यसहित विद्यालय हातामै पुगेर उनले सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले बताए । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

यो सिजनमा मात्र ओलीले करिब १० लाख बराबरको आर्थिक सहायताका गरेकी छन्। जिल्लाका शिवसताक्षी, कन्काई, भद्रपुर र अर्जुनधाराका सामुदायिक तथा फरक क्षमता भएका आश्रमका विद्यार्थीहरूलाई उनले सहयोग प्रदान गरेकी हुन् ।
ओलीले यसअघि शिवसताक्षी ४ को त्रिभुवन माध्यमिक विद्यालयका २५ जना विपन्न विद्यार्थीका अभिभावकलाई खाद्यान्न र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेर असल दाताको उदाहरण प्रस्तुत गरेकी थिइन्।

यस्तै अर्जुनधारा नगरपालिका अपाङ्ग बाल सरोकारका १३ जना, कन्काई नगरपालिकाको सुस्त मनस्थिति केन्द्रका १३ जना र पुकार अपाङ्ग संस्था कन्काईकै १५ गरी ४१ जना फरक क्षमता भएका बालबालिकालाई ट्रयाक सुट प्रदान गरेकी थिइन् । ती सामग्रीसंगै उनले १५० किलोग्राम चामल, १५ किलोग्राम दाल, १५ किलोग्राम चिउरा, ९ लिटर तेल र नौ किलोग्राम भुजा प्रदान गरेकी थिइन् ।

तुलसादेवीले आफ्नो जन्मदिन, दिवंगत पितृहरूको सम्झना र वर्षको कुनै एक महत्वपूर्ण दिनको अवसर पारेर समाजका विभिन्न क्षेत्रमा रहेका व्यक्ति वा संस्थालाई आवश्यक आर्थिक सहयोग र जिन्सी सामग्री प्रदान गरेकी छन्।
शिवसताक्षी नगरको वडा नम्बर ९ स्थित जिल्लागढ पोखरीमा २५० जना अटाउन सक्ने सभाहलका लागि ओली परिवारले निर्माण कार्य थालनी गरेको छ। तुलसादेवी ओली रुद्र– गौरी श्री –अम्बिका ओली प्रतिष्ठान नेपालका संस्थापक केन्द्रीय सदस्य हुन् । आफ्नो परिवारको आम्दानीको दशांश समाजसेवामा खर्च गर्ने उनको पूर्वयोजना हो ।

करिब दुई दशकदेखि समाजसेवामा खटिएकी ओली रुद्र– गौरी श्री –अम्बिका ओली प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष, समाजसेवी यज्ञराज ओलीकी धर्मपत्नी हुन् । ओली दम्पतीका सबै छोरा बुहारी, छोरी ज्वाइँ डाक्टर हुन् ।
तुलसादेवी एक्लैले सताक्षीधामको गोलोक गोवर्धन गौशालाले सञ्चालन गरेको श्री सताक्षी गुरुकुलमका लागि १ लाख ५१ हजारको अक्षय कोष स्थापना गरेकी छन् । उनी अक्षय कोषकी पहिलो दाता हुन् ।

उनले विपन्न वर्गका बालबालिकाको शैक्षिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले आफूले यस्ता कार्यक्रम सञ्चालन गरेको बताइन्। “शिक्षा सबैका लागि समान हुनुपर्छ। विपन्न विद्यार्थीलाई सहयोग गरेर उनीहरूलाई पनि आत्मविश्वासी बनाउनु मेरो प्राथमिकता हो,” उनले भनिन्।

विद्यालयका प्रधानाध्यापक ताजपुरियाले तुलसादेवी ओलीको योगदानको प्रशंसा गर्दै भने, ‘यस्तो सहयोगले विद्यार्थीहरूलाई केवल न्यानो मात्र हैन, उनीहरूको मनोबल पनि बढाउने काम गर्छ।’ तुलसादेवी ओलीलगायतका परिवारका अन्य सदस्यको यस कर्मका लागि पुर्याएको योगदानको जति प्रशंसा गरेपनि कम हुने प्रधानाध्यापक ताजपुरियाले बताए ।
विपन्न बालबालिकाको हितमा निरन्तर क्रियाशील ओलीले यसअघि पनि शैक्षिक सामग्री, स्टेशनरी र छात्रवृत्तिका कार्यक्रमहरू सञ्चालन गर्दै आएकी छन्। स्थानीय समुदायले पनि उनको सहयोगको प्रशंसा गरेका छन्।

शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुप्रसाद प्रसाई, कांग्रेस नेता परशुराम ढुङ्गाना, भक्ति सिटौला, शिवसताक्षी नगर महिला सञ्जालकी उपाध्यक्ष कल्पना चौलागाईंलगायतले तुलसादेवीको प्रशंसा गरेका थिए । शिवसताक्षी नगरमा रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले पुर्याएको योगदानको आफूले नजिकबाट हेरिरहेको नगर प्रमुख थोप्राले बताएका छन्। उनले भने,‘नगरको शिक्षा क्षेत्रमा उहाँ लगायत उहाँका परिवारको अतुलनीय योगदान रहेको नगरपालिकाले महसुस गरेको छ। सामाजिक सेवामा सक्रिय तुलसादेवीको सहयोगी स्वभावको जति नै प्रशंसा गरेपनि थोरै हुन्छ।’ नगर प्रमुख थोप्राले भविष्यमा पनि यस्तै कर्म गर्ने प्रेरणाका लागि ओलीलाई शुभकामना दिए ।

समाजमा धेरै प्रकृतिका समाजसेवी हुन्छन् । विपन्नको तस्बीर वा चित्र देखाएर माग्ने ,मागेको पैसा तिनै विपन्नलाई बाँड्ने र फेरि बाँडेको तस्बीर वा भिडियो देखाएर फेरि माग्ने अनि खाने प्रकृतिका सामाजिक अभियन्ताले ओली प्रतिष्ठान र तुलसादेवी ओलीबाट धेरै कुरा सिक्नुपर्ने वक्ताले बताएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक ताजपुरिया र सहजीकरण पत्रकार विनोद सापकोटाले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्