झापा, पुष ५ । झापा र झापालीको विरुद्धमा नबोल्न झापाली समाज अष्ट्रेलियाले चेतावनी दिएको छ ।

अष्ट्रेलियामा रहेका एकजना युवकले झापाका बारेमा नकारात्मक कुरा गरेपछि आन्दोलित बनेको झापाली समाज अष्ट्रेलियाले भविष्यमा त्यस प्रकारका घटना दोहोरिएमा कानूनी उपचारका लागि जान बाध्य हुने चेतावनीसमेत दिएको छ ।

ती युवकले टिकटकमा बोलेको नकारात्मक कुरालाई लिएर शुक्रवार विहान ७.३० बजे अष्ट्रेलियाको मेलवर्नमा छलफल डाकिएको थियो । बैठकमा झापाली समाज अस्ट्रेलियाका प्रतिनिधिहरू र घटनामा संलग्न सबै पक्षको उपस्थितिमा गहन छलफल भएको छ। सौहार्दपूर्ण वातावरणमा दुबै पक्षबाट आफ्ना कुरा स्पष्ट रूपमा प्रस्तुत गरी एकअर्कामा उठेका चासो र गुनासाहरूलाई समाधानका लागि उचित कदम उठाउने निष्कर्षमा पुगिएको समाजका अध्यक्ष अशोक उप्रेती र महासचिव ज्योति सिटौलाले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनीहरुका अनुसार भएका त्रुटिको आत्मालोचना गर्दै भविष्यमा भिडियो सामग्री निर्माण गर्दा निर्माणकर्ताले समाजप्रति जिम्मेवार भई कुनै पनि समुदाय र क्षेत्रलाई आघात एवम् मर्माहत पर्नेगरी गर्न नहुने र समाजले पनि सरोकारबालाबिच पहिले समस्या समाधानबारे पर्याप्त छलफल गरी अन्तिममा मात्र कानुनी उपचार रोज्नुपर्ने निष्कर्ष निकालिएको छ। बैठकका सहभागीहरुले आउने दिनहरुमा यस्ता घटनाहरूको पुनरावृत्ति नहोस् भन्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

अष्ट्रेलियाको मेल्वर्न शहरमा हालै सामाजिक संजाल (टिकटक) मार्फत झापाली समुदाय एवम् क्षेत्रलाई लक्षित गरेर केहि आपत्तिजनक शब्दहरू प्रयोग गरी केही भिडियोहरू बनाइएको थियो । त्यसपश्चात् भिक्टोरिया च्याप्टरका संयोजकले पदीय हिसावले गरेका वार्तालाप, ईमेल संवादहरू र यसैलाई आधार बनाई सत्यतथ्य र घटनाको मूल कारणलाई ओझेलमा पार्दै केही संचारमाध्यमबाट आएका झापाली लक्षित समाचारहरूवारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको झापाली समाज अष्ट्रेलियाले जनाएको छ । ‘समाजिक संजाल प्रयोगकर्ताहरुले संजाललाई प्रयोग गर्दा व्यक्तिगत स्वतन्त्रतालाई ध्यानमा राख्दै कुनै पनि समुदाय, वर्ग, क्षेत्र, समूहलाई लक्षित गर्दै सामाजिक सद्भावलाई मर्माहत गर्ने कार्य गर्नुहुँदैन । अष्ट्रेलिया बहुसांस्कृतिक एवम् सबै वर्ग, क्षेत्र, समुदायलगायतलाई उच्च सम्मान गर्ने देश हो र हामी यहाँका बासिन्दा भएकाले पनि हामी सबैले यसको उच्च सम्मान गर्नु पर्छ ’विज्ञप्तिमा भनिएको छ ।

यो घटनाले गर्दा सम्पूर्ण व्यक्ति, परिवार, झापाली समुदाय र समाजका शुभचिन्तकहरूप्रति पर्न गएको असरलाई गम्भिरतापूर्वक लिँदै सबैमा परेको अन्योलतालाई अन्त्य गरी आपसी सद्भाव कायम गरिएको जनाइएको छ । साथै समाजमा नकारात्मक सन्देश जाने भिडियोहरूलाई सामाजिक संजालबाट हटाइदिन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

अष्ट्रेलियामा वसोवास गर्दै आएका झापालीहरु सम्मिलित समग्र झापा र नेपालको समुन्नतिका लागि सामाजिक कार्यमा सहयोगी संस्थाको रुपमा विगत ११ वर्षदेखि झापाली समाज अष्ट्रेलिया क्रियाशील रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्