बिनोद सापकोटा,
झापा । वनभोज खाने र रमाइलो गर्नेका लागि यो सिजन उपयुक्त मानिन्छ । देशभरका पर्यटकीय स्थलहरू यो सिजनमा भरिभराउ हुन्छन् । कात्तिक पहिलो सातादेखि वैशाखभर वनभोज खाने र रमाइलो गर्नेको पर्यटकीय स्थलमा लर्को नै लाग्छ। अझ सार्वजनिक र साप्ताहिक विदाका दिन मेला नै लाग्ने गरेको छ।

साथीभाइसँग खेलेको देउसीभैलोबाट उठेको रकमले वनभोज जानेहरूका लस्करले यति बेला झापाको दोमुखा ड्याम्मै भरिएको छ। दामाशाहीले उठाएका पैसा वनभोज जानेहरुको अर्को आर्थिक स्रोत हो। यो बाहेक सामुदायिक तथा संस्थागत विद्यालय, विभिन्न सामाजिक संघ संस्था, भजन तथा कीर्तन मण्डली, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलगायत परिवारका सदस्य मिलेर वनभोज खाने र रमाइलो गर्ने गरिन्छ ।

झापाको दोमुखामा शनिवार वनभोज खान आउने अधिकांश विद्यार्थी र पूर्व कर्मचारी थिए। यो संख्यापछि बहालवाला राष्ट्रसेवक कर्मचारी पनि देखिन्थे । अनि परिवारका सदस्य मिलेर वनभोज खानेको ठुलै भीड दोमुखामा थियो। दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अनुसार शनिबार एकैदिन करिब २५ हजार मानिसले दोमुखा क्षेत्रमा वनभोज खाएका छन् । संस्थाका वरिष्ठ उपाध्यक्ष रमेश तिम्सिनाले भने, ‘यो संख्या अहिलेसम्मकै उच्च हो।’

पूर्वी कन्काई नदीको तटीय क्षेत्र र दोमुखा ड्यामको अति विशिष्ट कक्षमा वनभोज खाने, नाचगान गर्ने, विभिन्न खेलकुदका कार्यक्रमहरू गर्नेको समूह निकै थियो । कोशी प्रदेश स्तरीय सेवानिवृत्त प्रहरी कर्मचारीको वनभोजले दोमुखा क्षेत्रमा निकै भीड देखिन्थ्यो ।

दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका वरिष्ठ उपाध्यक्ष तिम्सिनाले गाउँ, टोल तथा विद्यालयका साथीभाइ मिलेर देउसी खेल्ने र जम्मा भएको रकमबाट वनभोज खाने संस्कृति किशोर–किशोरीमा बढ्दै गएको बताए । बस, जिप, अटोरिक्सा, मोटरसाइकललगायतका सवारीसाधनमा वनभोज खान दोमुखा कर्मचारी र सर्वसाधारण आउने गरेको उनले बताए । ‘यो एउटा राम्रो अवसर हो’, मोरङ मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले भने, ‘म शिवसताक्षी नगरपालिकाको कुनै बेला प्रमुख प्रशासकीय अधिकृत थिएँ । पहिलाको दोमुखा र अहिलेको दोमुखामा आकाश जमिनको फरक भएछ।’

सडक, बिजुली बत्ती, शौचालय, सरसफाई, सुरक्षालगायतका व्यवस्थाका कारण दोमुखामा वनभोज खान आउनेको संख्या दिनानुदिन बढेको उनले बताए । ‘पर्यटकीय स्थल दोमुखामा वनभोज खान आउँदा पुराना साथीभाइसँग जमघट हुने मौका मिल्यो । यो अवसर सार्वजनिक विदाले दिएको हो,’ उनले भने ।

कोशी प्रदेशमा वनभोज खान र रमाइलो गर्नका लागि दोमुखा आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सौन्दर्यता, स्थानीय सरकार र दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाको लगानीले दोमुखा यतिबेला सिँगारिएको छ।
पूर्वपश्चिम राजमार्गदेखि करिब साढे ३ किलोमिटर उत्तर चुरे पहाडको फेदमा रहेको दोमुखा प्रकृतिको अनुपम उपहार हो । स्थानीय भन्छन् ‘यो सिजनमा दोमुखाका हरेक होटल प्याक छन् । वनभोज खाने स्थल समयमै नपुगे ठाउँ पाइँदैन।’

‘अरू बेलाभन्दा दशैं –तिहारपछि वनभोज खान आउनेको संख्या दोमुखामा दोब्बर हुन्छ’ समितिका सचिव धनकुमार ढकालले भने, ‘अहिले दैनिक ४०÷५० वटा समूह वनभोज खान यहाँ आइपुग्छन् । शनिबार मात्र ८६ वटा समूह दोमुखामा वनभोज खाएर रमाइलो गर्न आयो ।’ उनका अनुसार शनिबार मात्र १ लाख ९१ हजार एकैदिन राजस्व सङ्कलन भएको छ ।

झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, धनकुटालगायतका जिल्लाका समूह शनिबार दोमुखामा वनभोज खान आएका थिए। टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाउने युवा युवतीको संख्या सबैभन्दा धेरै थियो।

पर्यटकीय हिसाबले दोमुखा पूर्वको नामुद क्षेत्र रहेको मेचीनगरका पत्रकार मुक्ति पौडेलले बताए । उनी पनि दोमुखा क्षेत्रमा शनिबार समूहमा वनभोज खान आएका थिए। उनले भने,‘स्थानीय सरकारको लगानीले दोमुखा क्षेत्र हराभरा बनेको रहेछ ।’
दोमुखा क्षेत्रबाट सङ्कलन भएको रकममध्ये ३० प्रतिशत शिवसताक्षी नगरपालिकाको राजस्व शाखामा दाखिला हुन्छ। बाँकी रहेको ७० प्रतिशत संस्थाका कर्मचारीको तलब भत्ता र दोमुखा क्षेत्रको पूर्वाधार विकासमा खर्च हुने गरेको संस्थाका अध्यक्ष धनप्रसाद लावतीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्