झापा, पुष ७ । झापाको बिर्तामोडमा ठूलो आवाजमा मोटरसाइकलमा फाइरिङ गर्दै कुदाउने युवाको आतंक देखिएको छ ।

फाइरिङ गरी मोटरसाइकल कुदाउँदै

दिउँसोभन्दा रातिको समयमा गोलीको जस्तो ठूलो आवाजका साथ फाइरिङ गर्दै मोटरसाइकल कुदाउँदा बिर्तामोडबासी आतंकित भएका छन् । एकपछि अर्कोको सिको गर्दै युवाले त्यसरी मोटरसाइकल कुदाएपछि नियन्त्रणमा लिन प्रहरीलाई समस्या भएको छ ।

तीन दिनअघि इलाका प्रहरी कार्यालय बिर्तामोडले एकजना युवकलाई नियन्त्रणमा लिएको थियो । बेनेली मोटरसाइकलसहित युवकलाई पक्राउ गरिएकोमा मोटरसाइकल राखेर अभिभावक बोलाएर संझाई बुझाई युवकलाई छोडिएको डीएसपी प्रकाश विष्टले बताए ।

खासगरी बेनेली , एनएक्स , बुलेटजस्ता मोटरसाइकलमा फाइरिङ गर्दै कुदाउने गलत प्रवृति बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । अरुलाई असर पुग्ने गरी फाइरिङ गर्दै मोटरसाइकल चलाउनेको संख्या बिर्तामोडमा करिव आधा दर्जन रहेको अनुमान गरिएको छ ।

तीब्र गतिमा फाइरिङ गर्दै कुदाउने युवालाई नियन्त्रणमा लिन प्रहरी टोली नै परिचालन गरिएको छ । मानिसहरु राति सुत्ने बेलामा खासगरी अल्लारे युवाले आगोको झिल्का निकालेर ठूलो आवाजका साथ फाइरिङ गर्दै मोटरसाइकल चलाउने गरेको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्