झापा,पुष ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलको सम्पत्ति जफत गर्न माग गरिएको छ।
आइतबार सरकारी वकिलको कार्यालय कास्कीले दायर गरेको मुद्दामा सम्पत्ति जफत प्रयोजनका लागि रवि लामिछानेसँगै उनकी श्रीमती पौडेललाई पनि प्रतिवादी बनाएको हो।
जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार पौडेललाई पनि सम्पत्ति जफतका लागि मुद्दा दायर भएको हो।
लिला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्वडिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको हो।
‘निकिता लगायतलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएका छौं,’ जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले भनिन्। रविको मात्रै २७ करोड भन्दा बढीको बिगो मागदाबी गरिएको छ। सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो। उनीसँगै पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा उक्त रकम मागदाबी गरेको हो। उनीहरूसँगै जिबी राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ।

आइतबार दर्ता गरिएको पुरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर दायर भएको हो। आठ वटा कम्पनि र पाँच जनाविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। सम्पत्ति शुद्धीकरणमा रवि, छवि, जिबी, उनका साझेदार रामप्रसाद खनाल र लिला पछाईविरूद्ध मुद्दा दायर भएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्