झापा, पुष ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतविरुद्ध मुद्दा दायर भएको अबस्थामा पार्टीका नेताहरुले अदालतको फैसलालाई स्वीकार गर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो झापा जिल्ला भेलालाई बिर्तामोडमा संबोधन गर्दै केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईले अदालतले जे फैसला दिन्छ , त्यसलाई मान्ने बताएका हुन् । ‘ हामी न्यायमूर्तिको फैसला मान्छौं प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तो अदालतको फैसला नमान्ने भन्दैनौं’ उनले भने ।

कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धानपछि आइतबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा एक अर्ब एकाउन्न करोड चालिस लाख उन्नाइस हजार एक सय चौरानब्बे रुपैयाँ तीन पैसा बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।

६० दिनभन्दा बढी समयदेखि हिरासतमा राखेर पार्टी सभापति लामिछानेलाई उत्पीडन र प्रहार गरिरहेको आरोप लगाउँदै प्रसाईले अदालतको विषय भएकाले अदालतले नै यसलाई टुंग्याउनु पर्ने धारणा राखे । त्यस्तै भेलाका मुख्य वक्ता प्रमुख सचेतक सन्तोष परियारले आरोप लगाउन पाइने तर राज्यको सबै संयन्त्र प्रयोग गरेर आरोपलाई पुष्टि गर्ने षडयन्त्र गर्नु गलत भएको बताए । उनले राजनीतिक प्रतिशोध साँध्न सरकार लागिपरेको कुरा प्रमाणित भइसकेको भन्दै त्यसलाई अदालतले समेत प्रमाणित गरेर देखाउने विश्वास व्यक्त गरे ।

सचेतक निशा डाँगीले राष्ट्रिय स्वतन्त्र पार्टी नामकरण भएदेखि लखेट्न थालेका पुराना पार्टीहरुले अझै लखेटिरहेको भन्दै अब भिड्ने बेला आएको बताइन् । त्यस्तै केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सभापति लामिछानेलाई सिध्याएर पार्टी पनि सिध्याउने भ्रम नपाल्न चेतावनी दिइन् ।

जिल्ला सभापति उमेश खरेलको अध्यक्षतामा भएको कार्यक्रममा निरज गौली , राजन दाहाल ,लालविक्रम थापा, विरोध सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला उपसभापति प्रकाश पाठकले झापा जिल्लामा पार्टीको अबस्थाबारे जानकारी दिएका थिए । क्षेत्र नं ४ का सभापति शम्भु सुस्केरा ढकालले संचालन गरेको कार्यक्रममा स्वागत बिर्तामोड नगर सभापति शम्भु भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्