त्यो बालापनमा रमाइलो पलको मिठास बेग्लै थियो। शरीरमा जोश, जाँगर, उमङ्ग अनि हर्षको बतास बेजोड थियो । सायद त्यसैले होला, जिन्दगीको त्यो छोटो अवधि सबैभन्दा खास थियो ।बालापनमा हामी सबैको मन पर्ने पात्र बन्छौँ। सबैको प्रिय हुन्छौँ। आजभोलि त्यही बालापनमा पाएको माया सम्झँदा पनि मन हर्षले उत्साहित हुन्छ। त्यही मायालाई आँखा चिम्लिएर महसुस गर्दा एउटा जिन्दगी बाँचेर आएजस्तै लाग्छ। सबैजनाको लागि हामी प्यारो हुन्थ्यौँ ।त्यो समय बेग्लै थियो। न केही कुराको आश थियो, न त निराशा नै। न केही कुराको चिन्ता थियो, न त पीर नै। न केहि बाध्यता थियो, न केही जिम्मेवारी नै थियो। न केही कुराको डर थियो, न त केही भ्रम। त्यति बेला यो मन साह्रै शान्त थियो। मात्र चंचल थियो।
मेरो बाल्यकालको मित्र कान्ता भुजेल अर्थात कान्तेसँग मेसेन्जर कलमा भलाकुसारी हुँदै थियो । अन्याय फिल्म हेर्दाको रमाईलो गफपश्चात् उसले मलाई फेरि सोध्यो,‘ओए माईला तँलाई अर्को कुरा याद छ ?’ मैले भने, ‘के कुरा यार ?’ उसले भन्यो, ‘क्या त हौ मोटी आमैको आँप चोर्न जाँदा आमैले गेटिसले हानेर निधारमा टुटुल्को उठाईदेको !’ मैले भने, ‘अरे यार किन याद नहुनु !त्यो दिनको याद अझै तााजै छ नि ।’
आजको अंकमा म त्यो बाल्यकालमा आँप चोर्न जाँदाको नालीबेली प्रस्तुत गर्ने जमर्को गर्दैछु । जति बेला म ज्यामिरगढी नि.मा.वि.मा कक्षा ६ मा पढ्दै थिएँ ।शुक्रवारको दिन थियो,हरेक शुक्रवार हाफछु्ट्टी ।त्यसमा पनि शुक्रवार हाम्रो स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । त्यो दिन साथी बिनोद कार्कीले स्कुलमा सुमधुर गीत गाएको थियो। बिनोदको स्वर यति मिठो थियो कि, अहिलेजस्तो गायन रियालिटी शोहरु हुन्थे भने बिनोद पनि सुप्रसिद्ध गायक बन्ने थियो होला सायद ।मलाई पनि खै के झोँक चल्यो त्यो दिन, मैले पनि स्कुलमा गीत गाएको थिएँ । स्वर राम्रो त थिएन तर पनि, अघिल्लो दिन बेलुका आमाले सिकाउनु भएको “ घरबेटी बहिनी आँगनीमा देऊ न मलाई बास” भन्ने गीत काम्दै गाएको थिएँ ।
१ बजेपछि स्कुल छुट्टी भयो । सदाझैँ बिचार्नीबाट स्कुल आउने हाम्रो ग्रुपका साथीहरु म,सुवास,कान्ते,केशब,तिर्थे,धुर्बे,बिनोद,सैलुन,रमेश सँगै घर फर्कदैँ थियौ ।बाटोभरि साथीहरुले मलाई मजाक बनाउँदै थिए– आज माईलाले खत्रा गीत गायो भनेर । माईलाले काम्दै गीत गायो भनेर जिस्काउँदै थिए । स्कुलबाट हिँडेको लगभग आधा घण्टापछि हामी बिचार्नी आईपुग्यौँ ।बिचार्नी बजारमा केही क्षण अरुले खेलेको क्यारेमबोर्ड हेरेर हामी अर्थात म,सुवास,कान्ते,केशब र तिर्थे त्यहाँबाट फेरि घरतर्फ हिड्यौँ ।
त्यो बेला आँपको सिजन थियो ।अचानक हाम्रो योजना आँप चोर्न जाने बन्यो ।त्यो बेला बिचार्नी बजारको पुछारमा हामी सबैले उनको छेउमा चाहिँ अजी भनेर सम्बोधन गर्ने तर अरु बेला मोटी आमै भन्ने महिलाको घर थियो ।उनको घरपूर्व ३÷४ वटा आँपको रुख थिए ।मोटी आमैको ठुलो टाँडे घर थियो ।जुन घर दक्षिणपूर्व फर्किएको थियो ।घरबाट थोरै पर थिए ती आँपको रुख । तर पनि, टाँडे माथिबाट प्रष्ट देखिन्थ्यो ।हो, त्यही आँप चोर्न जाने योजना बन्यो हाम्रो ।
त्यहाँबाट हामी सबैको घर पनि एकदमै नजिकै थियो ।तर पनि, हामी घर गएनौँ ।घर गएपछि त घाँस काट्न बगानतिर जानु पर्छ भनेर घरतिर गएका थिएनौँ हामी । स्कुलकै ड्रेसमा किताब बोकेरै हामी बिचार्नी बजार बालेश्वरको दोकानबाट पूर्व लागेर पैनीको बाटो मकैवारी हुँदै आँपको रुख भएको ठाउँ पुगेका थियौँ ।सबैले खेतको आलीमा किताब राखेर आँप टिप्न लाग्दै थियौँ हामी । म र केशब मान्छे हेर्ने,तिर्थे किताब रुङ्ने, कान्ते ,सुवास आँप टिप्ने ।२÷३ वटा आँप टिपिसकेका थिए साथीहरुले ,अचानक सुवासको निधारमा आएर एउटा सानो ढुङ्गा लाग्यो। ऐयाः भन्दै सुवास लड्यो । यसो हेरेको त माथि घरको बरण्डाबाट मोटी आमैले गेटिस पो हान्दै रैछिन् हामीलाई । हामी सब भागारे भाग । हत्तपत्त किताब उठाएर टाप कस्यौँ सबैजना ।
सबै जना बानपैनीतिर भाग्यौँ । भाग्ने क्रममा मेरो त हात्ती छाप चप्पल नै चुँड्यो ।चप्पल छाडेर असिन पसिन हुँदै भागेका थियौँ हामी । मकैका पातले हात खुट्टा पासेर हैरान । बानपैनीमा पुगेर यसो सुवासको निधारमा हेरेको त बाफरे बाफ सानो टुटुल्को हैन । बिच निधारमै लागेको रहेछ गेटिसमा हानेको ढुङ्गाले । हातले टुटुल्को छोपेर सुवाससहित सबै जना हामी आ–आफ्नो घरतिर लागेका थियौँ । त्यसपछि त्यो टुटुल्को नसुकुन्जेलसम्म सुवास स्कुल नै गएन । त्यो हाम्रो बाल्यकालको बदमासी क्षण थियो ।तर, आज सम्झँदा निक्कै रमाईलो लाग्छ । त्यो अबोध क्षण,त्यो बाल्यकालको स्मरण,अनि त्यो रमाईलो पल ।
साथी कान्तेसँगको त्यो मेसेन्जर कलको भलाकुसारीले फेरि पनि मलाई बिचार्नी बजार, लालझोडा स्कुल,कालिकाझार बगान,तल लिम्बूगाउँ छेउको हर्रोको रूख,बिचार्नी स्कुल,अनि निन्दा खोलाको बगरमा खेलेको फुटबल,निन्दाको बगरमा खनेको टटुवा सबै चिजको स्मरण गराएको छ । धन्यबाद छ ,साथी कान्तेलगायत मेरा सबै बाल्यकालका साथीहरुलाई जोसँग मैले मेरा सुन्दर बाल्य अवस्था बिताएको छु ।
साथी कान्तेसँगको भलाकुसारीको अर्को अंकमा बिचार्नी स्कुल छेउमा रहेको कटहरको रुख र नजिकै रहेको लिच्ची बगानमा भएका रमाईला त्यो बाल्यकालको क्षणको बारेमा लेख्ने छु । धन्यबाद । क्रमशः