बिर्तामोड , पुष ८ । वर्षौदेखि अतिक्रमित झापाको बिर्तामोड ६ मा रहेको भद्रपुर माध्यमिक विद्यालयको सरकारी जग्गा खाली गराउने प्रक्रिया शुरु भएको छ ।

विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका घर

भद्रपुर माविको नाममा रहेको १७ विगाह १० कठ्ठा जग्गा अनाधिकृत व्यक्तिले अतिक्रमण गरी बस्ती बसालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्वाही अघि बढाएसंगै भद्रपुर माविले जग्गा खाली गराउने प्रक्रिया थालेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले गत कात्तिक २७ गते जिल्ला प्रशासन कार्यालय झापालाई पत्र पठाउँदै बिर्तामोड ६ स्थित भद्रपुर माविको नाममा रहेको जग्गा अनाधिकृत व्यक्तिहरुले अतिक्रमण गरी बस्ती बसालेको भन्ने उजुरी सम्बन्धमा छानबिन गर्न लेखिआएकाले उक्त विद्यालयको जग्गाको क्षेत्रफल के कति रहेको हो ? के कति जग्गा अतिक्रमणमा परेको हो ? उक्त जग्गाको हालको अबस्था कस्तो छ ? के कुन कारणले अतिक्रमण हुन गयो ? को कसले अतिक्रमण गरेका हुन् ? सो सम्बन्धमा सत्य तथ्य बुझी रायसहितको छानबिन प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । त्यस सम्बन्धमा कार्य गर्न सम्बन्धित निकाय नापी कार्यालय भद्रपुरलाई गत कात्तिक २९ गते सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले पत्र पठाएका थिए । जिल्ला प्रशासन कार्यालयको पत्र आएपछि नापी कार्यालयले मंसिर २ गते भद्रपुर माविलाई पत्र पठाएको थियो । नापी कार्यालयले उक्त स्थानमा विद्यालयको नाममा रहेको जग्गाको जग्गाधनी प्रमाणपुर्जा तथा कागजपत्रसहित विद्यालयको प्रतिनिधि आफ्नो कार्यालयमा पठाइदिन अनुरोध गरेको छ । जसको बोधार्थ जिल्ला प्रशासन कार्यालय र बिर्तामोड नगरपालिकाको ६ नं वडा कार्यालयलाई बुझाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको पत्र

अख्तियारले कार्वाही शुरु गरेपछि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल , भद्रपुर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुद्धिमान लिम्बू, नापी कार्यालय र मालपोत कार्यालयका प्रतिनिधिसहितको टोलीले अतिक्रमित जग्गाको केही दिनअघि निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा भद्रपुर माविको जग्गा अतिक्रमण भएको पाइएको नगर प्रमुख पोखरेलले बताए । ‘धेरै समयदेखि थपिदै गएको भद्रपुर माविको जग्गाको समस्यालाई समाधान गर्नैपर्ने देखिएको छ’ उनले भने, ‘हामी जग्गालाई व्यवस्थित गरेरै छाड्छौं । ’

भद्रपुर माविको जग्गामाथिको अतिक्रमण र आफूखुशी किनबेचका बारेमा करिव पाँच वर्ष अघिदेखि नै अख्तियारले अनुसन्धान थालेको हो । दुई वर्षअघि आयोगले भद्रपुर माविका तत्कालीन प्रधानाध्यापक कुलबहादुर गुरुङसँग बयान लिएको थियो । बयानका क्रममा भद्रपुर माविको नाममा रहेको कि नं. ९१ सहित सम्पूर्ण साढे १७ विगाह जग्गाको हालकोे अबस्थाका बारेमा सोधिएको थियो ।

त्यस जग्गामा ३४ परिवारबाट ३०५ हुँदै अहिले हजारभन्दा बढी परिवारले घर बनाएका छन् ।साढे १७ विगाह जग्गाको धनीपूर्जा भद्रपुर माविको नाममा भएपनि विचौलियाहरुले अतिक्रमण गरी आफूखुशी जग्गा किनबेच गर्दै आएका छन् ।सरकारी जग्गामा घर बनाएको र बनाउन दिएर लाखौं रकम असुलेको विषयमा पनि अख्तियारले छानविन थालेको हो । सरकारी जग्गा हिनामिनाका विषयमा केही जागरुक स्थानीयहरुले २०७६ मंसिर २८ गते अख्तियारमा उजुरी दिएका थिए । त्यस उजुरीउपर सुनुवाई गर्दै अख्तियारले विद्यालयको सरकारी जग्गामा के भएको हो भनी जवाफ पठाउन २०७६ पुष १७ गते भद्रपुर माविलाई पत्र पठाएको थियो । त्यस पत्रको जवाफ विद्यालयले २०७६ माघ २१ गते फर्काएको थियो । आबश्यक कागजातसहितको विद्यालयको पत्रमा कित्ता नं ९१ को जग्गामा मोहीको लगत रहेको तर, सम्बन्धित मोहीले जोतभोग गर्न छाडेको निकै भएको , जग्गामा बस्नेहरुले वर्षौदेखि ठेक्का नतिरेको , मोहीको लगतमा नदेखिएका व्यक्तिहरुले गैरकानुनी र मनोमानी ढंगबाट आर्थिक चलखेलसमेत गरी बाटो खन्न र घर बनाउन दिएको भन्ने उल्लेख थियो ।

आफूखुशी गरिएको आफ्नो जग्गा खाली गराउनका लागि भद्रपुर मावि लागिपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिम्बूले बताए । ‘सरकारी जग्गामा बल मिच्याइँ गर्न पाइदैन’ उनले भने,‘ नीति नियमलाई सबैले मान्नु पर्छ ।’

नापी कार्यालयको पत्र

अख्तियारले कार्वाही प्रक्रिया अघि बढाएसंगै भद्रपुर माविले पनि तदारुकता देखाएपछि त्यस जग्गामा बसेका बसोबासीहरुले राजु रायमाझीको संयोजकत्वमा एउटा समिति बनाएका थिए । तर, आपसी कुरा नमिल्दा त्यो समिति हिजो विघटन भएको जनाइएको छ । बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले विद्यालयको सरकारी जग्गा मास्न नपाइने बताउँदै जग्गा खाली गराउँदा वर्षौदेखि बसोबासीलाई विद्यालयले व्यवस्थापन गर्नुपर्ने प्रतिक्रिया दिए । ठूलो जनघनत्व रहेको बिर्तामोड ६ को त्यस जग्गामा ७ वटा टोल विकास संस्था रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्