वीरु दर्नाल,
भारत , दार्जिलिङ । भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लास्थित जिटिए क्षेत्रका अनुसूचित जातिको प्रथम राष्ट्रिय महाधिवेशन सुकुनामा सम्पन्न भएको छ ।
दार्जिलिङ जिल्लाका कालेबुङ , खरसाङ , मिरिक , डुवर्स , सिलिगुडीलगायतका अनुसूचित कामी , दमाई र सार्की ( कादसा ) तीन जातिको प्रथम महाधिवेशन आयोजना गरिएको थियो । डिसेम्बर २२ तारिख आइतबार भएको महाधिवेशनले यी तीन जातिको एकतालाई बलियो बनाएर आगामी दिनमा अघि बढ्दै राज्यसँग आफ्नो जातिको हकहित लागि माग गर्ने निर्णय गरेको छ । महाधिवेशनको गोर्खा पार्वत्य परिषद ( जिटिए ) का प्रमुख कार्यकारी अधिकृत अनित थापाले उद्घाटन गरेका थिए । उनले आफूमा भएको हिनताको भावनालाई त्याग्न अनुसूचित जातिलाई आग्रह गरेका छन् । उनले भने,‘ तपाईहरु धेरै अगाडी बढिसक्नु भएको छ । तपाईहरुको जातिमा ईश्वरको वास रहेको छ । अब गर्व गर्ने बेला आएको छ । हरेक क्षेत्रमा तपाईहरुको जातिले एउटा विशेष स्थान बनाइसकेको अवस्था छ । अब पनि मन खुम्च्याएर बस्ने बेला छैन ।’
कार्यक्रममा समुदायबाट कला क्षेत्रमा योगदान पुर्याउने विभिन्न ब्यक्तित्वलाई सम्मान गरिएको थियो । चर्चित कुसुमे रुमाल चलचित्रमा चंखेको भूमिकामा अभिनय गरेका वरिष्ठ कलाकार विश्वमणि हिङ्माङ ( जिते ) , चर्चित गायक ईन्द्रजित मिजारलाई सम्मान गरिएको हो ।
वरिष्ठ संगीतकार शान्ति ठटाल , काजी सिंह , डा. जेबी मंग्रातिलगायतलाई सम्मान गर्ने आयोजकले बताएपनि कार्यक्रममा उनीहरुको उपस्थिति नरहेको आयोजक समितिका सदस्य सुरज बागदासले बताए । राजु सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । संजय पोर्तेलको स्वागत रहेको कार्यक्रमलाई अनिल विश्वकर्मा , अनुप रामुदामु र अनित खातीले संयुक्तरुपमा संचालन गरेका थिए ।
नेपालबाट अध्येता लेखक डिबी नेपाली ( दमु ) काठमाडौ र गोर्खा फाउण्डेशनका अध्यक्ष वीरु दर्नाल झापा अतिथिको रुपमा निम्त्याइएका थिए । अनुसूचित जाति कामी , दमाई र सार्कीबारे डा. विसु सिंह विश्वकर्मा , डा. अमिर दर्जी र सन्तराज सार्कीले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । जिटिएका चर्चित हास्यकार महेन्द्र बागदासले आफ्नो कला प्रस्तुति दिएका दिए भने इन्द्रजित मिजार र रजनी सुन्दासले युगल गीत गाएका थिए ।
कार्यक्रममा कार्यवाहक अध्यक्ष विमल दर्जी , पण्डित निर्मल खाती , तीनधारेका वरुण रसाईलीको टोलीले मादल धून , केशव लावर , देवा मंग्राति , राजेश गजमेर , रवि दियालीलगायतको मन्तव्य तथा प्रस्तुति रहेको थियो । भारतीय संविधानअनुसार दलित जाति लेख्न र भन्न प्रतिबन्ध लगाइएको छ ।