
झापा,पुष ९ । अनुत्तीर्ण विद्यार्थीलाई ग्रेसलिस्टमा समावेश गरी दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्रदान गरेको विषयमा काठमाडौं विश्वविद्यालय (केयू) को सर्वोच्च निकाय सिनेटमा छलफल भएको छ ।प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको कार्यालय सिंहदबारमा बसेको बैठकमा दीक्षान्त कार्यक्रममा भएको त्रुटिबारे जानकारी गराइएको रजिस्ट्रार अच्युत वाग्लेले जानकारी दिए । ‘ती विद्यार्थीहरू नम्बर थप गरेर पास गराइएका थिएनन् । त्रुटि भएर उनीहरूको नाम ग्रेसलिस्टमा पर्न गएको हो । ती विद्यार्थीले गाउन लगाएर डिग्रीको प्रमाणपत्र बुझेका पनि होइनन्,’ वाग्लेले भने, ‘यही कुरा सिनेट सदस्यलाई जानकारी दियौं ।’
त्रुटि फेला परेपछि नै ग्रेसलिस्टबाट हटाएर स्वतः उक्त निर्णय सच्चिएको उनले जनाए । ‘लापरबाही वा बदनियत के भएर त्रुटि हुनपुग्यो, त्यसको छानबिन गर्न समिति बनाएको छौं । त्यसपछि विस्तृत थाहा होला,’ वाग्लेले भने ।
अध्ययन बीचमा छाडेका तथा परीक्षामा अनुत्तीर्ण विद्यार्थीको नाम ग्र्रेसलिस्टमा समावेश भई दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्राप्त गरेको विषयमा केयूले छानबिन समिति गठन गरेर अध्ययन थालेको छ । छानबिनका लागि ‘स्कुल अफ ल’ का डिनको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको केयूले जनाएको छ । समितिमा पूर्वपरीक्षा नियन्त्रक पन्ना थापा र पूर्वपरीक्षा सहनिर्देशक वीरेन्द्रबहादुर लाखे सदस्य रहेका छन् । यस विषयमा गहन अनुसन्धान गरी भविष्यमा यस्ता कमजोरी हुन नदिन छानबिन एवं अध्ययन गर्नुपर्ने आवश्यकता देखिएकाले कार्यकारी परिषद्ले समिति गठन गरेको केयूका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् । प्रतिवेदन बुझाउन समितिलाई एक साताको समयावधि दिइएको छ ।