झापा,पुष ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीलाई अहित हुने सामग्री फेसबुकलगायत सामाजिक सञ्जालमा सेयर, लाइक र रिट्वीट गर्न रोक लगाएको छ।
केन्द्रीय प्रचार विभागले बनाएको ’सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१’ मा पार्टीलाई हित नगर्ने सामग्री सेयर, लाइक र रिट्वीट गर्न नपाउने उल्लेख छ। यो कार्यविधि पुस ६ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेकोले कार्यान्वयनमा आइसकेको छ।

अब साधारण सदस्यदेखि केन्द्रीय पदाधिकारीसम्मले यो कार्यविधिअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार व्यवस्थित र मर्यादित रूपमा सामाजिक सञ्जाल सञ्चालन गर्न र प्रसारित सामग्रीमा एकरूपता कायम गर्न पार्टीले कार्यविधि बनाएर लागु गरेको हो।
कार्यविधिमा कुनै सदस्यले अर्को कुनै सदस्य वा व्यक्तिलाई होच्याउने, बदनाम गर्ने, चरित्रमा आँच पु¥याउने वा व्यक्तिगत प्रतिष्ठामा हानि हुने गरी सार्वजनिक रूपमा आलोचना गर्न वा फोटो, भिडिओ सेयर गर्न नपाउने उल्लेख छ।
‘पार्टी सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री सेयर गर्ने, लाइक गर्ने र रिट्वीट गर्न हुँदैन,’ कार्यविधिले भनेको छ।
सदस्यहरूले पार्टी निर्णय, विचार, मूल्य, मान्यता र आदर्शलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने, गराउने वा पार्टी सदस्यबाट सार्वजनिक हुने विचार, बहसलाई व्यवस्थित गर्न कार्यविधि बनाउनुपरेको राप्रपाको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्