झापा,पुष १० । नेपालका अलराउन्डर २० वर्षे क्रिकेटर कुशल मल्लले यूएईको आईएल टी–२० खेल्ने भएका छन् । आईएल टी–२० को फ्रेन्चाइज टोली डेजर्ट भाइपर्सले कुशललाई अनुबन्ध गरेको जनाएको छ । नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिड घाइते भएपछि भाइपर्सले उनको स्थानमा कुशललाई लिएको हो ।
आईएल टी–२० को तेस्रो सिजन जनवरी ११ देखि सुरु हुनेछ । भाइपर्सले जनवरी १२ मा अबुधाबी नाइट राइडर्सविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । प्रतियोगिता सुरु हुनु एक साता अगाडि कुशल दुबईमा रहेको आफ्नो टोलीमा समावेश हुने तालिका छ । आईएल टी २० मा यूएईका कम्तीमा २ तथा विदेशी ९ जनासम्मले प्लेयिङमा रहेर खेल्न पाउने प्रावधान छ ।
कुशलले गत वर्ष चीनमा भएको दक्षिण एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा अविजित १३७ रन बनाएका थिए । त्यस क्रममा उनले ३४ बलमै शतक पूरा गरेका थिए । तत्कालीन अवस्थामा त्यो ट्वान्टी–२० अन्तर्राष्ट्रियको सबैभन्दा थोरै बलमा बनेको शतक थियो । देब्रेहाते कुशलले नेपालका तर्फबाट ४७ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा १४७ माथिको स्ट्राइक रेटमा ९१७ रन बनाउनुका साथै १९ विकेट लिएका छन् ।
नेपाल हालै भएको एनपीएलमा कुशलले चितवन राइनोजको कप्तानी गर्दै टोलीलाई प्लेअफसम्म डो¥याएका थिए । पहिलो पटक फ्रेन्चाइज क्रिकेटमा कप्तानी गर्ने क्रममा उनले ८ खेलमा १२० माथिको स्ट्राइक रेटमा २२३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्