
झापा,पुष १० । सरकारले तीन वटा कार्यविधिलाई एकीकृत गरेर औद्योगिक तथा लगानी प्रवर्द्धन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गरेको छ । मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि स्वीकृत गरेको हो ।
महिला उद्यमशीलता विकास कोष सञ्चालन कार्यविधि २०६९, लघु, घरेलु, साना उद्योग विकास कोष सञ्चालन कार्यविधि २०६९ र लघु, घरेलु र साना उद्यमी प्रविधि हस्तान्तरण कार्यविधि २०७३ लाई एकीकृत गर्न उक्त कार्यविधि तयार गरेको उद्योग मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले बताए ।
यी तीनै कार्यविधिको काम अब एउटै कार्यविधिमार्फत सम्बोधन हुने सहसचिव घिमिरेले बताए । ‘यो कार्यविधि रुग्ण अवस्थाका उद्योग पुनरुत्थान, महिला उद्यमशीलताको विकास, प्रविधिको विकास, लघु घरेलु तथा साना उद्योग विकास र औद्योगिक प्रवर्द्धनका लागि ल्याइएको हो,’ सहसचिव घिमिरेले भने, ‘यो कार्यविधि कार्यान्वयनमा आएपछि देशमा उद्यम–व्यवसाय फस्टाउने र रोजगार सिर्जना हुने अपेक्षा छ ।’
यसको प्रमुख उद्देश्य लघु, घरेलु, साना तथा महिला उद्यमीलाई उद्योग सञ्चालनका लागि सहुलियत कर्जा प्रदान गर्नु रहेको उनको भनाइ छ ।