बिर्तामोड, पुष १० । पूर्वको आकर्षणको केन्द्रविन्दु बनेको देशकै ठूलो बिर्तामोडको विलिभर्स चर्चमा ख्रीष्टमस पर्वको अवसरमा रमाइलो गर्न आउनेहरुको भीड लागेको छ ।

ख्रीष्टमस पर्वको कार्यक्रममा इसाई धर्मावलम्बीहरुसंगै अन्य धर्मावलम्बीहरु पनि हेर्न आएका थिए । त्यहाँको आकर्षण हेर्न , फोटो र भिडियो खिच्न र टिकटक बनाउन आज बिहानदेखि नै युवा युवतीहरुको भीड लागेको थियो । कार्यक्रम चलिरहेका बेला करिव १२ सय युवा युवतीहरु आएको चर्चका सेवक वीरु दर्नालले बताए । त्यस्तै साँझपख बिजुली बत्तीको झिलिमिली हेर्न आउनेहरुको संख्या अझ बढी रहेको थियो । त्यसो त अन्य दिन पनि सो चर्चलाई हेर्न आउनेको संख्या धेरै नै हुने गरेको छ ।

सो चर्च गत वर्ष निर्माण गरिएको हो । वडा नम्बर ४ मा निर्मित सन्त पावल विलिभर्स ईष्टर्न चर्च भौतिक संरचना र क्षेत्रफलको हिसाबले नेपालकै ठूलो , ब्यवस्थित र नमूनाको रुपमा रहेको छ । करिव तीन करोडको लागतमा सो चर्चको निर्माण कार्य चार वर्षअघि शुरु भएको थियो ।

