झापा, पुष ११ । धनकुटा, संखुवासभा र ओखलढुङगामा लडेर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

हिजो बिहान ११.४५ बजे धनकुटा नगरपालिका वडा नम्बर ७ बसपार्कमा अन्दाजी ७० वर्षीय महेन्द्र कटुवाल आफ्नै घरको शौचालयमा लडेर अचेत अवस्थामा फेला परेका थिए । उनका छोराले देखेर उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याएकोमा चिकित्सकले ११ः५५ बजे मृत घोषणा गरेका थिए ।
त्यस्तै हिजो दिउँसो ३.४० बजे संखुवासभा पाँचखपन नगरपालिका वडा नं. ४ फापुङ बस्ने कविराज दर्जीकी अन्दाजी २३ वर्षीया छोरी रमला दर्जी पानी लिन जाने क्रममा साउने खोल्सीको कुँवामा लडेर मृत अबस्थामा फेला परेकी थिइन् ।
त्यस्तै गएराति ८.१० बजे ओखलढुङगाको सुनकोशी गाउँपालिका–५ मा निर्माण भइरहेको पाँच बेडको अस्पताल भवनमा काम गर्ने क्रममा इटहरी १४ बस्ने २५ वर्षीय अनिल चौधरी लडेर घाइते भएका छन् । डोकोमा इटा बोक्ने क्रममा लडेर घाइते भएका चौधरीलाई जनसेवा हेल्थ केयर घुर्मीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगरतर्फ लगिएको प्रहरीले जनाएको छ ।