झापा, पुष ११ । चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा निर्यातमा झन्डै १७ प्रतिशतले वृद्धि भएको छ । अन्य महिनामा घट्दै गएको निर्यात व्यापार मंसिर महिनामा आएर ह्वात्तै बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
यसरी निर्यात व्यापार बढाउने पाँच वस्तु छन् । ती हुन् ः सोयाबिन तेल, अलैँची, सूर्यमुखी तेल, कार्पेट र चिया । यिनै वस्तुका कारण समग्र निर्यात व्यापार बढेको छ ।
पाँच महिनामा निर्यात १६.५४ प्रतिशतले बढेर ७३ अर्ब ६५ करोड ९७ लाख रुपियाँको निर्यात भएको तथ्याङ्क छ । कात्तिकसम्मको तुलनामा मंसिरमा २१ अर्ब रुपियाँले बढेको छ । कात्तिकसम्म ५२ अर्ब ६७ करोड ७१ लाख रुपियाँको निर्यात भएको थियो ।
निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा सोयाबिन तेल रहेको छ । पाँच महिनाको अवधिमा आठ अर्ब ३६ करोड ८१ लाखको सोयाबिन तेल भारत निर्यात भएको छ । व्यवसायीले तेस्रो मुलुकबाट सोयाबिनको कच्चा पदार्थ आयात गरी नेपालमा ल्याएर रिफाइन गरेर भारत निर्यात गर्छन् । भारतले तेल आयातको भन्सार बढाएपछि व्यवसायी स्वदेशमा भन्दा निर्यातमा केन्द्रित छन् ।
नेपालबाट निर्यात हुने दोस्रोमा अलैँचीको निर्यात तीन अर्ब ४५ करोड ६३ लाख रुपियाँको भएको छ । तेस्रोमा नम्बरमा रहेको सूर्यमुखी तेलको निर्यात दुई अर्ब ९७ लाख ६१ करोड रुपियाँको निर्यात भएको छ । सूर्यमुखी तेल पनि विशेष गरी भारत निर्यात भएको छ । यस्तै पाँच महिनामा दुई अर्ब ८३ करोड ५४ लाखको कार्पेट निर्यात भएको छ । यस अवधिमा दुई अर्ब ५६ करोड ९५ लाखको चिया निर्यात भएको छ । चिया भारतमै निर्यात भएको छ ।
भारतबाहेक युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चियाको माग पनि उत्तिकै छ । पाँच महिनामा दुई अर्ब ३९ करोड ७४ लाखको धागो, दुई अर्ब १० करोड ७६ लाखको स्टिल तथा आइरन निर्यात भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्