झापा,पुष ११ । भोजपुरको ट्याम्केमयुम मन्दिर सपरिवार दर्शन गर्न जाने क्रममा झापा गौरादह –७ जामवारी बस्ने भूतपूर्व सैनिक ६६ वर्षीय झंकबहादुर घलेले ज्यान गुमाउनु पर्यो ।

आज बिहान ७ः३० बजे भोजपुर नगरपालिका–५ स्थित बोखिमबाट ट्याम्केमयुम मन्दिर दर्शन गर्न जाने क्रममा नेपाली सेनाका भूतपूर्व जम्दार घले परिवारसहित चढेको प्र. १–०२–००२ च.६९२३ नम्बरको स्कोरपियो गाडी अनियन्त्रित भई सडकदेखि करिब २०० मिटर तल खस्न गई दुर्घटना भएको थियो । टाउकोमा चोट लागेका घलेलाई भोजपुरको जिल्ला अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घलेकी श्रीमती ६५ वर्षीया देबीकला घले , घलेकी छोरी सुनसरी धरान – २ बस्ने ३८ वर्षीया ईहा राना सुब्बा, अर्की छोरी इलाम माङसेबुङ –६ बस्ने ३३ वर्षीया मेनुका घले, घलेका ज्वाइँ धरान बस्ने ४२ वर्षीय नवीनकुमार राई, मेनुका घलेका छोरा ३१ महिनाका मिगेल राई, भोजपुर –५ बोखिम बस्ने ३५ वर्षीया लाक्पादिकी शेर्पा , सोही ठाउँ बस्ने ४० वर्षीया जानुका राई, ४१ वर्षीय रामकुमार राई र स्कोरपियो चालक धरान –८ बस्ने ४० वर्षीय सुदिप लिम्बू घाइते भएका छन् । घाइतेमध्ये ईहा राना सुब्बा, लाक्पादिकी शेर्पा र रामकुमार राईलाई थप उपचारको लागि काठमाडौतर्फ लगिएको छ ।अन्यको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्