लक्ष्मी उप्रेती,
मेचीनगर । जाडो मौसम शुरुवातसँगै पशु चौपायामा संक्रमण देखा पर्न थालेपछि मेचीनगर नगरपालिकाले महामारीजन्य रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्र भद्रपुरसँगको सहकार्यमा नगरका १५ वटै वडामा खोप कार्यक्रम सञ्चालन गरिएको हो । मेचीनगर नगरपालिकाको पशु सेवा शाखाका अनुसार पशुमा लाग्ने महामारीजन्य रोग नियन्त्रणका लागि हाललाई एफएमडीविरुद्ध खोप कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो पाँच महिनामा १५ हजार डोज खोप लगाइने भएको छ ।

साथै शाखाको ल्याबमार्फत आन्तरिक परजीवी पहिचानका लागि ३ सय २९ वटा गाईभैसी तथा बाख्राहरुमा गोबर परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको पशु सेवा शाखाका प्रमुख छत्रबहादुर राईले जानकारी दिए । उनका अनुसार सोही अवधिमा ३ सय ८५ वटा बोका निःशुल्क बन्ध्याकरण गरी सेवा दिइएको छ । नश्ल सुधार कार्यक्रमअन्तर्गत गाई तथा भैसीमा उन्नत नश्लको बीउबाट कृत्रिम गर्भाधान गरी दुध उत्पादनमा सुधार ल्याउनका लागि साउनदेखि मंसिरसम्म १ हजार ३६ वटा गाई तथा १ सय ४० वटा भैसीगरी कुल १ हजार ७ सय ७६ वटा पशुमा कृत्रिम गर्भाधान सेवा पुर्याएको राईले जानकारी दिए । यसबाट १ हजार २ सय ९८ जना पशुपालक कृषकहरु लाभान्वित भएका थिए ।

रेबिज खोपविरुद्ध खोप व्यवस्थापन गरेर सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई २ सय ३४ डोज खोप लगाइएको छ । त्यस्तै रेबिज सप्ताहमा नगरका सवै वडामा विविध कार्यक्रम गरी ३ सय ६८ वटा कुकुर, बिरालोलाई निःशुल्क खोप लगाइएको शाखाले जनाएको छ । ५० प्रतिशत अनुदानमा जै घास बीउ वितरण, सवै वडाहरुमा पशु प्राविधिकमार्फत परामर्श सेवा प्रवाह भइरहेको, मासिकरुपमा विज्ञ केन्द्र भद्रपुर, प्रदेश तथा संघमा कृत्रिम गर्भाधान तथा इपिडोमियोलोजिकल रिपोर्ट तथा फ्ल्यास रिपोर्ट सम्प्रेषण गरिरहेको शाखाले जनाएको छ ।

सन् २०३० सम्ममा खोरेतमुक्त मुलुक घोषणा गर्ने उद्धेश्यसहित राष्ट्रिय पशु रोग खोप कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ । ‘खोरेत रोगग्रस्त पशुहरुको उपचार र रोग देखापरेका ठाउँको आसपासमा रोग फैलन सक्ने सम्भाव्य क्षेत्रमा खोरेतविरुद्धको एफएमडी खोप लगाउन सुरु गरेका छौं,’ शाखा प्रमुख राईले भने,‘अहिलेसम्म १५ हजार पशुवस्तुलाई खोप दिइएको छ । यो क्रम पुरै क्षेत्रमा सम्पन्न नहुँदासम्म प्राविधिकहरु खटिरहन्छन् ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्