झापा,पुष १२ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको निर्वाचन पुष १३ र १७ गते दुई चरणमा हुँदैछ । त्यसका लागि निर्वाचन समितिले सबै प्रदेश र जिल्लाहरूमा मतदान अधिकृतहरू तोकिसकेको छ ।
विद्यार्थी मोर्चाको दुवै चरणको निर्वाचनलाई सफल बनाउन आर्थिक लगायतका आवश्यक सहयोग र सहजीकरण गर्न पार्टीका सबै प्रदेश र जिल्ला समन्वय समितिलाई आवश्यक निर्देशन दिइसकेको केन्द्रीय कार्यालय निकट स्रोतले जनाएको छ ।
निर्वाचन समितिका अनुसार पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा ७७ वटै जिल्लामा मतदान हुनेछ । त्यसका लागि शनिबार निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए । त्यस्तै दोस्रो चरणमा नयाँ नेतृत्वको लागि पुष १७ गते निर्वाचन हुने उनको भनाइ छ ।
नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । त्यसका लागि माओवादीले सबै जिल्ला र प्रदेशमा मुख्य मतदान अधिकारी र मतदान अधिकृत तोकिसकेको एक विद्यार्थी नेताले बताए । एक जिल्लामा तीन जना मुख्य मतदान अधिकृतसहितका मतदान अधिकृत तोकिएका छन् भने प्रदेशमा पनि सोहीअनुसार तोकिएको उनको भनाइ छ ।
यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो । दोस्रोपटक मंसिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।