झापा,पुष १२ । पूर्वमा पहिचानवादी मुद्दा उठाइरहेका चार वटा संगठनहरुले सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नको लागि संयुक्त पहिचानवादी मोर्चा गठन गरेका छन् ।

प्रा.डा. महेन्द्र लावतीले नेतृत्व गरेको संघीय संयोजक पहिचानवादी मोर्चा, केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, उकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको प्रदेश नं.१ पुनः नामांकन अभियान समिति र ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं.१ समितिले मोर्चा गठन गरेका हुन् ।
एकल जातीय राज्य, भ्रष्टाचार, असमानता, सबैखाले विभेद र अन्यायविरुद्ध लड्दै देश जिम्मा लिन सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नको लागि संयुक्त पहिचानवादी मोर्चा गठन गरेको युवा नेता एलवी पालुङ्वाले जानकारी दिए ।सुनसरीको धरानमा बसेको बैंठकपछि एक बिज्ञप्ति जारी गर्दै मोर्चा गठन भएको घोषणा गरिएको नेता पालुङ्वाले बताए ।
सांस्कृतिक विविधताले भरिपूर्ण समाजमा बहुसांस्कृतिक, बहुराष्ट्रिय र बहुल राष्ट्रिय राज्य स्थापना गर्न, पहिचानमा आधारित न्यूनतम १० प्लस सक्कली संघीयता सुनिश्चित गर्न, भ्रष्टाचार नियन्त्रण तथा सुशासन स्थापना गर्न, देशमा समृद्धिको लहर ल्याउन र सर्वसाधारण नेपालीहरुको कल्याण गर्न एउटा इमानदार, जनमुखी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता नागरिकहरुले महसुस गरेको र त्यही आवश्यकता पूरा गर्नको लागि छरिएर रहेका पहिचानवादी संगठन र अभियन्ताहरुलाई एक ठाउँमा ल्याउँदै पाँच महिनाभित्र देश जिम्मा लिन सक्षम राजनीतिक शक्ति निर्माण शुरुवात गर्नको लागि पुष ११ गते धरानमा बसेको जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं.१ पुनः नामांकन अभियान समिति, पहिचानवादी मोर्चाको बैठकबाट संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय भएको जनाइएको छ ।
हाल चार संगठनबीच मोर्चा निर्माण भएको र अन्य संगठनहरुलाई पनि समावेश गर्दै लगिने निर्णय भएको पालुङ्वाले बताए ।