बिर्तामोड, पुष १३ । जिल्ला सहकारी संघ झापाको आसन्न निर्वाचनमा नेपाली कांग्रेसनिकट सहकारीकर्मीहरुले उम्मेदवारी दिने भएका छन् ।

यही पुष २७ गते हुन लागेको जिल्ला सहकारी संघको अधिवेशनमा उम्मेद्वारी प्रस्तुत गर्न नेपाली कांग्रेस झापाले एक समिति गठन गरेको छ । निर्वाचनमा संयोजनकारी भूमिका निर्वाह गर्ने उद्देश्यले दुर्गाप्रसाद सापकोटाको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा पुष्पराज कार्की, दिपक काफ्ले, देविका बस्नेत, पम्फा विक, लवकुमार चौधरी, युवराज गिरी, शेखरनाथ अधिकारी, भुपाल बस्नेत, मित्र खनाल, विनोद ढकाल, प्रकाश चुडाल, कर्म शेर्पा, टिकाराज सापकोटा, रोशन विष्टलगायत रहेका छन् । जिल्ला सहकारी संघ झापामा नेकपा एमालेनिकट सहकारीकर्मीहरुको वर्चस्व रहँदै आएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार भएकाले यसपटक जिल्ला सहकारी संघमा दुवै पार्टीले भागवन्डा गर्ने संभावना देखिएको छ ।
पार्टी कार्यालयमा पार्टीनिकट ब्यक्तिले नेतृत्व गरेका जिल्लाभरका सहकारी संस्थामा आबद्ध अध्यक्ष एवं प्रतिनिधिहरुको भेलालाई संबोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वी.पी. कोइरालाले प्रतिपादन गरेको समाजवादी सिद्धान्त सहकारीका माध्यमबाट सहज रुपमा पूरा गर्न सकिने बताए ।सहकारीका माध्यमबाट समाज परिवर्तन र आयस्तर बृद्धि गर्न सकिने उनको भनाई थियो ।
नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य एवं कोशी प्रदेश सहकारी विभागका संयोजक चन्द्रा खड्का भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजीकरण नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले गरेका थिए । कार्यक्रममा सयबढी सहकारीकर्मीहरुको सहभागिता रहेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।