झापा,पुष १३ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको आयोजनामा भएको अन्तर क्याम्पस गोल्डकपको उपाधि दमक बहुमुखी क्याम्पसले जितेको छ ।

शनिबार इलामको ठुलो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई एक गोलले पराजित गर्दै दमकले उपाधि जितेको हो । मध्यान्तरअघि नै दमकका किस्मत लिम्बूले प्रहार गरेको बललाई डिफेन्डर जर्सी नं ४ का प्रविनले हेडमार्फत क्लियर गर्न खोज्दा बल आत्मघाती बन्न पुग्यो । उक्त गोल नै दमकको लागि उपाधिको उपहार बन्यो ।

योसँगै दमक बहुमुखी क्याम्पसले दुईलाख रुपैयाँ हात पारेको छ भने महेन्द्र बहुमुखी क्याम्पस धरानले उपविजेता बन्दै एक लाख रुपैयाँ प्राप्त गरेको छ । फाइनल खेल प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा दमक बहुमुखी क्याम्पस झापा, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार सुनसरी, महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम, पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङ, दार्जिलिङ गभर्मेन्ट क्याम्पस भारत, गौरादह क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस धरान र मेची बहुमुखी क्याम्पस झापाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्